१० दिन भित्र नहटे काठमाडौँका नदी किनारका सुकुम्वासी बस्ती भत्काउने चेतावनी
काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यका नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने सूचना जारी गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै समितिले नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको जनाएको छ ।
‘काठमाडौँ उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरूमा तोकिएको मापदण्डभित्र अनाधिकृत रूपले बनाइएका घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरुका कारण नदीको दुवै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको बेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरू हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
समितिले उक्त अवधि भित्र नदी किनारा खाली गरेको नपाइएमा सकिएको मिति पश्चात् काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरूसँगको सहयोगले लिएर भत्काउने बताएको छ ।
सूचना अनुसार अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दारगराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।

























