stcnepal long ad
himalayan life insurance long ad

ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरी ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी भएको निष्कर्ष निकालेको छ।

नेपाल मुस्लिम आयोगको निमन्त्रणामा गत भदौ १७ गते संयुक्त अरब इमिरेट्स ९यूएई०को संसदीय टोली नेपाल भ्रमणमा आएको थियो।

परराष्ट्र मन्त्रालयले उक्त भ्रमण टोलीलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिनेबारे पत्राचार गरेको थियो।

सो भ्रमण टोलीसँगै ठगी आरोपमा नेपाल प्रहरीको खोजी सूचीमा रहेका सुनसरीका ३० वर्षीय रिजवान आलम फरार भएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालय तथा नयाँ बानेश्वर प्रहरी वृत्तको टोलीले आलमलाई सोही दिन राति १० बजे नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको थियो।

विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग भएकोबारे छानबिन गर्न त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले छानबिन समिति बनाएको थियो।

नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले अध्यागमन विभागले यात्रुको विवरण समयमा उपलब्ध नगराएका कारण आरोपी विशिष्ट कक्षबाटै फरार भएको निष्कर्ष निकालेको छ।

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले छानबिनक्रममा विशिष्ट कक्ष दुरुपयोग भएको देखिएपछि कर्मचारीलाई सचेत गराइएको जानकारी दिनुभयो।

उहाँले कुन यात्रु अपराधी हुन् वा होइनन् भन्नेबारे नागरिक उड्डयन कार्यालयलाई जानकारी नहुने बताउँदै भन्नुभयो, “विमानस्थल प्रयोग गर्ने यात्रुको विवरण अध्यागमन विभागसँग हुन्छ। फरार अभियुक्तबारे सूचना आउन ढिला हुँदा कमजोरी भएको देखियो।”

उहाँले विमानस्थलमा एड्भान्स प्यासेन्जर इन्फरमेसन सिस्टम ९एपीआईएस० प्रयोगमा ल्याउन ढिलाइ भएका कारण यस्ता समस्या बेलाबेला दोहोरिने गरेको स्वीकार्नुभयो।

यूएईबाट फ्लाई दुबईको विमान एफजेट–०५७१ को विमानबाट आलम बिहान ८स्४७ बजे काठमाडौँ ओर्लिएका थिए। आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउनेक्रममा शङ्कास्पद देखिएको थियो तर अध्यागमनले त्यसको जानकारी प्रहरीलाई समयमा दिएन।

आलम बिहान ९स्१६ बजे विदेशी पाहुना सहित विशिष्ट कक्षबाट बाहिरिएका थिए। विमानस्थलबाट बाहिरिसकेको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनको खोजीमा परिचालित भएको थियो।

फरक पहिचानसहित होटलमा बसेका उनलाई प्रहरीले १३ घण्टापछि पक्राउ गरेको थियो। दुबईबाट आएका विशिष्ट पाहुनाको दोभाषेका रूपमा काठमाडौँ ल्याइएका उनलाई योजनाबद्ध रूपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भगाएको आरोप लागेको थियो।

विदेशी पाहुनालाई विमानस्थलमा स्वागत गर्न अन्सारी स्वयं विमानस्थल पुगेका थिए। त्यसक्रममा विशिष्ट व्यक्तिसहित आलमको पासपोर्टमा समेत अराइभल छाप लगाउनेक्रममा उनको पासपोर्ट कालो सूचीमा रहेको देखिएको थियो।

अध्यागमन विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले भीआईपी कक्ष प्रयोग गर्ने व्यक्तिको पासपोर्ट अध्यागमन विभागमा चेक–जाँच हुने बताउनुभयो। उहाँले आलमको पासपोर्ट भने सो दिन विभागमा नआएका कारण समयमै प्रहरीलाई जानकारी दिन नपाएको स्वीकार गर्नुभयो।

पाइलट पढाइदिने भन्दै सर्लाहीका एक युवकको एक करोड रुपियाँभन्दा बढी ठगी गरेको उजुरी उनका बुवा दाउद हुसेनले जाहेरी दर्ता गरेपछि उनीमाथि २०७८ फागुन २७ गते जिल्ला अदालत, काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको थियो।

आलम यूएईमा रहेको जानकारी पाएपछि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराएको थियो। त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले विशिष्ट कक्ष प्रयोग गर्दा कमजोरी देखिएको पाइएकाले कर्मचारीलाई सचेत गराइएको जानकारी दिनुभयो।