stcnepal long ad
global ime bank long

कोरोना संक्रमणबाट बच्न बुद्ध एयरले बनायो हवाई सुरक्षा निर्देशिका

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडौँ । भौगोलिक स्वरुप तथा मौसमी विविधताले नेपालको हवाई उड्डयनमा चुनौती रहे पनि यो सेवा आम सर्वसाधारणको रोजाइमा पर्छ । महँगो भाडा तिरेर भए पनि सुलभ र सहज ढङ्गले गन्तव्यमा पुग्ने जो कोहीको चाहनालाई हवाईजहाजको यात्राले सजिलै पूरा गरिदिन्छ ।

कुनै पनि विपद्को अवस्थामा होस् वा अन्य अत्यावश्यक कामका लागि पनि हवाईजहाजको प्रयोगको विकल्प हुँदैन । यतिबेला कोभिड–१९ को विश्वव्यापी रुपमा फैलिएको छ । नेपालमा पनि यसको असर देखिएको छ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ देखि देशभर लकडाउन गरेको छ ।

लकडाउन पछिल्लो पटक वैशाख २५ सम्म निरन्तरता दिने निर्णय गरिएको छ । त्यस्तै जेठ २ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्द गरिएको छ । लकडाउनको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवीय उद्धार तथा कार्गो उडान भइरहेको छ ।

यसरी विपद्को सारथी बनिरहेका हवाई क्षेत्रको सेवालाई विभिन्न मापदण्ड बनाएर परिस्कृत गर्ने प्रयास थालिएको छ । यसै सन्दर्भमा नेपालको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले सुरक्षा निर्देशिका बनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ । बुद्धले आफ्ना आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गन्तव्यका लागि सुरक्षा निर्देशिका बनाएको हो । उक्त सुरक्षा निर्देशिका अनुसार कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि अब जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने भएको छ ।

खासगरी सामूहिक प्रयोगका वस्तु प्रयोग रोक्ने उद्देश्यले शौचालय प्रयोगमा रोक लगाइएको हो । हवाई यात्रुका लागि तोकिएको यो सुरक्षा निर्देशिका विश्व स्वास्थ्य सङ्गठनले महामारीको जोखिम नहटाएसम्म लागू हुने कम्पनीले जनाएको छ ।

बुद्धले यात्रुको सुरक्षालाई ध्यानमा राखी स्वास प्रस्वास सम्बन्धी बिरामी तथा रुघाखोकी, जीउ दुख्ने, सिँगान बग्नेजस्ता कोरोनासँग सम्बन्धित लक्षण देखिएका सबै बिरामीलाई जहाजमा चढ्न निषेध गरिने जनाएको छ । त्यसका लागि आफ्ना काउन्टरमा विशेष व्यवस्था मिलाइनेछ । कम्पनीले आगामी हवाई उडानमा क्याटरिङ सेवा बन्द गर्नेछ ।

एक वा दुईजना एयर होस्टेसले धेरैजना यात्रुलाई क्याटरिङ बाँड्दा त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो व्यवस्था गरिने भएको हो । उडानका क्रममा उपयोग हुने ¥याम्पबसमा सीमित मात्रमा यात्रु चढाइनाका साथै जहाजमा चढ्नुपूर्व सबै यात्रुले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । त्यसैगरी जहाजमा घरपालुवा जनावर लैजान दिइनेछैन ।

विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ । यात्रुलाई जहाजमा चढाउनु अगाडि कम्पनीले आफ्ना सबै कार्यालय र उपकरण, सवारी साधन र हवाईजहाजसमेत स्यानिटाइज गर्ने जनाएको छ ।

बुद्ध एयरका कार्यालय र सबै कर्मचारीले समेत सुरक्षा निर्देशिकाको कडा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालयभित्र सहकर्मीका कुनै पनि सामग्री प्रयोग गर्न पाइने छैन । कर्मचारीले खाजा सकभर घरमै बनाएर ल्याउन वा कार्यालयको क्यान्टिनमा मात्र खानु पर्नेछ । मास्कलगायत स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक सामग्री कम्पनीले हरेक कर्मचारीलाई उपलब्ध गराइनेछ ।

कर्मचारीलाई भीडभाड हुने क्षेत्र, सिनेमा हल, रेस्टुरेन्टलगायत क्षेत्रमा जान रोक लगाइएको कम्पनीले बताएको छ ।

IME Lifesidebar
kumari