घरेलु श्रमिकका रूपमा युरोपेली मुलुक जाने व्यक्तिले अबदेखि अनिवार्य रूपमा तालिम लिनुपर्ने
काठमाडौँ । घरेलु श्रमिकका रूपमा युरोपेली मुलुक जाने व्यक्तिले अबदेखि अनिवार्य रूपमा तालिम लिनुपर्ने भएको छ । घरेलु श्रमिकका रूपमा ती देश जान चाहने व्यक्तिले कम्तीमा ३० कार्यदिनको तालिम लिएको प्रमाणपत्र पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने बाध्यात्मक व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुुभयो ।
यस्तो प्रमाणपत्रसँग बायोमेट्रिक हाजिर समेत पेस गर्नुपर्ने उहाँले बताउनु भयो ।
साइप्रस, रोमानिया लगायतका युरोपेली देशमा नेपाली युवा घरेलु श्रमिकका रूपमा तालिम नै नलिई जाने गरेकाले अबदेखि तालिमलाई अनिवार्य गरिएको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा घरेलु श्रमिक पठाउने सम्बन्धी निर्देशिका २०७२ को बुँदा १६ मा घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले अभिमुखीकरण तालिम सम्बन्धी कार्यविधि २०७० बमोजिम कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ ।
अहिले घरेलु श्रमिकको रूपमा साइप्रस, रोमानियालगायतका देशमा श्रमिक पठाउँदा कतिपय वैदेशिक रोजगार व्यवसायीले तालिम नै नलिएका श्रमिक पठाउने गरेको पाइएको महानिर्देशक आचार्यले बताउनुभयो ।
नियम अनुसार तालिम नदिई नेपाली युवालाई विदेश पठाउने म्यानपावर कम्पनीलाई कारबाही गरिने उहाँले बताउनुभयो ।























