कागेश्वरी मनोहरा नगरपालिकाको सय दिनमा धेरै काम गरेर देखायो
काठमाडौं । काठमाडौंको कागेश्वरी(मनोहरा नगरपालिकालाई सुदृढ र समृद्ध बनाउने अभियानमा लागेका मेयर उपेन्द्र कार्कीले आफ्नो १०० दिनको काम र त्यसका उपलब्धि सार्वजनिक गरेका छन् ।
मेयर कार्कीले एक पत्रकार सम्मेलन गरी आफु र आफ्नो टिमले गरेका कामको जानकारी दिएका छन् । साथै उनले निर्वाचनका बेला भनिएको ‘सुदृढ नगर, दृढ उपेन्द्र’ भन्ने नारा अनुसार नै आफू सबैसँग मिलेर नगरको विकासमा लागेको र सय दिनमा नगर विकासको बृहद खाका तयार पारेको बताएका छन ।
आफू सहित निर्वाचित टिमले पदबहाली गरेपछि भएका १०० दिनका काम र योजना सार्वजनिक गर्न उपस्थित भएका कार्कीले धेरै कामको सुखद सुरुवात भएको र त्यसलाई पूरा गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन। गत २०७९ जेठ ९ गते मेयर कार्की र निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेका थिए।
नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी शिक्षा, स्वास्थ्य, खेलकुद, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तिकरण, उद्यमशीलता र भौतिक पूर्वाधारको क्षेत्रमा भएका कार्यप्रगतिको बारेमा मेयरले प्रष्ट पारेका छन ।
उनले नगर शिक्षा ऐन २०७५ को संसोधन गरी शिक्षा ऐन अनुकूल बनाउँदै यो सय दिनमा एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत सामूदायिक विद्यालयका २०९ शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिएका छन ।
मेयरसँग जेष्ठ नागरिक घरदैलो निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत सबै वडाका जेष्ठ नागरिकहरूको स्वास्थ्य चेकजाँच गर्न सुरू गरेको छ।
यसैगरि नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूको पनि निःशुल्क रूपमा नियमित स्वास्थ्य परीक्षण सुरू गरिएको जानकारी दिएका छन ।
नगरले वृहत्त एकीकृत खानेपानी कार्यक्रम अन्तर्गत स्वच्छ खानेपानीको धारा प्रत्येक घरमा पुर्याउने कार्य अघि बढाएको र चालु आर्थिक वर्षभित्र ५ हजार ५ सय घरधुरीलाई खानेपानी वितरण विस्तार गरिने प्रतिबद्धता जनाएका छन ।
त्यसैगरी पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनालाई अघि बढाउँदै अव्यवस्थित हाउजिंग, प्लटिङको अनुमति स्थगित गरी व्यवस्थित शहरीकरणको कार्यलाई पनि अघि बढाउने तयारी भएको मेयर कार्कीले जानकारी दिएका छन ।
देशका धेरैजसो महानगरपालिका र नगरपालिकामा फोहोर व्यवस्थापन प्रमुख समस्या बनिरहेको सन्दर्भमा कागेश्वरी(मनोहरा नगरपालिकाले पनि उपयुक्त प्रविधि प्रयोग गरी नगरको फोहोर नगरभित्रै व्यवस्थापन गर्ने बारे दीर्घकालीन योजना अगाडि बढाउने उनले बताएका छन ।
नगरपालिकाको गौरवको आयोजनाको रूपमा नगरपालिकालाई खेलकुद नगरीको रूपमा विकास गर्न,धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले कागेश्वरी धामको वृहत्त विकासको कार्ययोजना अघि बढाइएको पनि मेयर कार्कीले जानकारी दिएका छन।
जेष्ठ नागरिकलाई सम्मान स्वरूप चाडपर्व खर्च १ हजार रूपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको, वर्षा र बाढीका कारण क्षति भएको बाली पशुधनका लागि किसानहरूलाई राहत रकम वितरण गरिएको पनि मेयर कार्कीले जानकारी दिएका छन ।
यसैगरी किसानहरूले प्राप्त गर्ने सुविधा व्यवस्थित गर्न किसान कार्डको शुरूवात गरिएको पनि उनको सय दिनको कामको प्रगति बिवरणमा उल्लेख गरेका छन् ।
कार्यक्रममा नगरकी उपप्रमुख शान्ता थापा,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडाध्यक्ष र सदस्यको उपस्थिति रहेको थियो ।























