यातायात व्यवस्था सानो भर्याङ्गका ६ बिचौलिया समातिए
काठमाडौं । २०७९ असार ३० गते काठमाण्डौ महानगरपालिका वडा नं. १५ सानो भर्याङ्गस्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन त्यहाँ पुगेका सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने/दिने कार्यमा बाधा पुर्याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन खोजी छिटो छरितो काम गरिदिने भनी आश्वासन दिई जवरजस्ती सेवाग्राहीहरुलाई तानी सरकारी काम कारवाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिई अभद्र व्यवहार गरेको आरोपमा केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । ।
प्रहरी बृत्त स्वयम्भूबाट प्रहरी निरीक्षक समेतको नेतृत्वमा खटिएको प्रहरी टोली उक्त स्थानमा पुगी केही बिचौलिया ब्यक्तिहरुले सेवाग्राहीलाई अनावश्यक दुस्ख हैरानी दिई सेवा प्रवाहमा बाधा अवरोध पुर्याएको अवस्थामा फेला पारी निजहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउमा परेका व्यक्तिहरुमा जिल्ला उदयपुर ताप्ली गाऊँ पालीका वडा नं. २ घर भई हाल का.जि.नागार्जुन नगरपालिका वडा नं. ४ बाफल बस्ने वर्ष २४ को अजय मगर, जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा ६ बौद्ध बस्ने वर्ष ३३ को विश्व वल्लभ लामा, जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.१ घर भई हाल का.जि.नागार्जुन नगरपालिका वडा नं. ४ बाफल बस्ने वर्ष २४ को सुवास योन्जन लामा, जिल्ला उदयपुर उदयपुरगढी नगरपालिका वडा नं. २ घर भई हाल का.जि.का.म.न.पा १५ स्वयम्भु बस्ने सुरज भन्ने वीर बहादुर मगर,जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं ३ घर भई हाल का.जि.का.म.न.पा ३२ पेप्सीकोला बस्ने वर्ष २४ को विशाल उप्रेती र जिल्ला सर्लाही परवानीपुर नगर पालीका वडा नं १६ घर भई हाल का.जि. नागार्जुन नगरपालिका वडा नं. ४ सीतापाईला बस्ने वर्ष २४ को बिमल पुलामी रहेका छन।
उक्त घटना सम्बन्धमा पक्राउ परेका अजय मगर समेत ६ जनालाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

























