citizens life insurance long ad
stcnepal long ad

नियमित परेको वर्षाले कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन् ।

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरको गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

 

 

कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहर कै डङ्गुरबाट गाडीहरू बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईले बताउनुभयो ।

गत फागुनदेखि सिसडोल बञ्चरेडाँडा स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।

सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्नका लागि केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग काठमाडौँ महानगरपालिकाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्दै आएको थियो ।

तत्कालका लागि स्थानीयवासीको अवरोध हटे पनि हरेक दिन पानी पर्दा समस्या दोहोरिएको कामपाको भनाइ छ । यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ ।

कामपाले फोहरको सहज व्यवस्थापनका लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिनेलाई स्रोतबाट नै वर्गीकरण गर्न लागेको जनाएको छ ।

कामपा, सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमतिअनुसार कामपाले यस किसिमको अभ्यास गर्न लागिएको हो ।

वातावरण विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु ५०० जरिवाना गरिनेछ ।

कामपाका लागि यो नौलो अभ्यास भने होइन, ३२ वडा रहेको कामपामा यसअघि पनि केही वडामा स्रोतमा नै फोहरको वर्गीकरण गर्ने कार्यको सुरुआत भए पनि कडाइका साथ लागू नहुँदा निरन्तरता पाउन भने सकेन ।

IME Life
kumari