पूर्व राजा ज्ञानेन्द्रबाट सरकारलाई दुई करोड रकम सहयोग

आर्थिक सञ्जाल चैत्र १९ गते २०७६ बुधबार
काठमाडौं । हिमानी टष्ट मार्फत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व राजपरिवारको तर्फबाट सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पूर्व राजा ज्ञानेन्द्र शाहले गरेका छन् ।
पूर्वराजाद्धारा एक विज्ञप्ति जारी गदै कोरोना महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गदै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरिएको छ ।
पूर्व राजाबाट महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरी लगायत सबै सुरक्षाकर्मी प्रति आभार पनि प्रकट गरिएको छ ।
यस्तो छ पूर्वराजाबाट विश्वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा दिएको सन्देशः
विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ।
मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुरयाउनु अनिवार्य भै सकेको छ । यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।
महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुरयाउने सन्चारकर्मी एबम पत्रकारहरूप्रती हामी आभारी छौँ ।
आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दुस्खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनु भएको छ यसको हामी उच्च सराहना गर्दछौं ।
राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ ।
दुःख कष्ट र आपत बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष मा दाखिला गर्न बुझाएका छौ ।
यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ । भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्, जय नेपाल।