मेडिकल उपकरणको खरिदमा भएको अनियमितता छानवीन गर्न मसालको माग

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महासचिव मोहन विक्रम सिंहले आज एक विज्ञप्ति प्रकाशित गर्दै हालै मेडिकल उपकरण खरिदमा भएको अनियमितता छानबिन गर्न माग गरेका छन् ।
एक विज्ञप्तीमा भनिएको छ `चीनबाट आएका सामानहरूमा भ्रष्टाचार वा कमिसनको खेल भएको भन्ने समाचार मध्यमहरूले बाहिर ल्याएका समाचारहरू प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान अकर्षित भएको छ ।
उक्त विषयमा स्थिति स्पष्ट गर्न वा आवश्यकतानुसार छानवीन गर्न हामीले सरकारसित अनुरोध गर्दछौँ । अहिले देश महामारी र गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको बेलामा सरकारको कुनै पनि तहबाट जीवनका लागि परम आवश्यक स्वास्थ्य सम्बन्धी सामाग्रीमा भ्रष्टाचार र कमिशनको खेल हुन्छ भने त्यो गम्भीर प्रकारको अमानवीय र अक्षम्य कार्य हुनेछ ।
त्यस कारण त्यस प्रकारको कुनै पनि कारवाही हुन नदिन उच्च सतर्कता अपनाउन हामीले सरकार सित माग गर्दछौँ । अहिले देशमा कोरोना भाइरसका कारणले पैदा भएको असहज स्थितिबाट नाजायज फाइदा उठाएर उद्योग, व्यापारीहरूले कालोबजारी गर्न थालेका समाचार पनि व्यापक रूपमा आइरहेका छन् ।
देशमा गम्भीर प्रकारको सङ्कटको स्थिति उत्पन्न भएको बेलामा केही नाफा कमाउनका लागि कृतिम अभावको स्थिति पैदा गर्नु वा कालो बजारी गर्नु पनि अक्षम्य प्रकारको अपराध हो । हामीले उद्योग वाणिज्यसित सम्बन्धित संस्थाहरू वा सरकार सित पनि त्यस प्रकारको कालोबजारी माथि नियन्त्रण गर्नका लागि अनुरोध गर्दछौँ ।
देशका विभिन्न भागमा क्बारेन्टाइनमा राखिएका व्यक्तिहरूको स्वास्थ्य जाँच वा उपचारको राम्रो व्यवस्था नभएको तथा कतिपय स्थानहरूमा ताल्चा मात्र लगाएर राखिएको समाचार पनि प्राप्त भइरहेका छन् ।
त्यस प्रति विशेष ध्यान दिन हामीले सरकार सित अनुरोध गर्दछौँ । कतिपय ठाउँहरूमा जनताले स्वास्थ्य जाँच वा क्बारेन्टाइनमा बस्न अस्वीकार गरेको, जबर्जस्ती गर्ने गरेको वा त्यहाँबाट भाग्ने गरेका समाचारहरू पनि प्राप्त भइरहेका छन् ।
त्यसो गर्नु स्वयं आफू र आफ्नो परिवार तथा सम्पूर्ण समाज वा देशका लागि गम्भीर सङ्कट वा महामारी निम्त्याउनु नै हुनेछ । त्यसैले त्यस प्रकारको गैरजिम्मेवार तरिका नअपनाएर कोरोना भाइरसले पैदा गरेको स्थितिमा अनुशासित भएर बस्नका लागि हामीले सम्पूर्ण जनता सित अपील गर्दछौँ ।ʼ