citizens life insurance long ad

काठमाडौं उपत्यकामा मुर्ती चोरीका घटना बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति गत माघ ९ गते चोरी भयो । मूर्ति हराएको १८ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेको छैन । हराएको मूर्ति खोज्न जनताले प्रहरीसँग माग गरेका थिए,अब यो छानवीन गर्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीलाई दिइएको छ ।

मूर्तिको बारेमा सूचना दिने, पत्ता लगाउने, सुराकी दिने वा भेटाउने व्यक्तिलाई यहाँको गुठीले पाँच लाख रुपैयाँ पुरस्कार दिने पनि घोषणा गरेको छ ।

तर अहिले सम्म कुनै सुराक पत्ता लाग्न सकेको छैन। वर्षौं पुरानो मूर्ति दुई फिट अग्लो र २५ केजी तौलको थियो । मूर्तिमा सुनका गहना पनि थिए । त्यही गहनाको लोभमा मूर्ति चोरी भएको अनुमान प्रहरीले गरेको छ ।

गत मंसिर २० गते काठमाडौंको नागार्जुन नगरपालिका–३, हल्चोकस्थित आकाश भैरव मन्दिरबाट भैरवको मूर्ति चोरी भयो । मध्यराति चार–पाँच वटा मोटरसाइकलमा आएका व्यक्तिहरूले मूर्ति चोरेर लगेको स्थानीय बताउँछन् । तर, हालसम्म मूर्ति फेला परेको छैन ।

यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । प्रहरीको तथ्यांक अनुसार विगत दुई महिनामा काठमाडौं उपत्यकाका मूलनिवासी नेवा समुदायले पूजा गर्ने चारवटा देवताका मूर्ति चोरी भएका छन् ।

देशैभरबाट चालू आर्थिक वर्षको हालसम्म १५ देवीदेवताका मूर्ति चोरी भएको प्रहरीको तथ्यांक छ, जसमध्ये केही चोरीका मूर्तिसहित २६ जना पक्राउ परेका छन् । प्रहरीले चोरलाई पक्राउ गरे पनि मूर्तिको चोरीपछि त्यसको बिक्री र अन्य पाटो भने खुल्न सकेको छैन ।

विगत १५ वर्षयता ५ सय ७८ वटा मूर्ति लगायत पुरातात्विक महत्व बोकेका सामग्री चोरी भएको प्रहरीको तथ्यांक छ । तर, त्यसभन्दा पनि धेरै वर्षअघि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भूभागबाट ठूलोमा मात्रामा मूर्तिलगायत पुरातात्विक महत्वका सामग्री चोरी भएको देखिन्छ।

त्यतिबेला चोरी भएका धेरै मूर्तिहरु विदेशमा बिक्री हुने गरेको अनुमान छ । हालसम्म अमेरिका लगायत देशमा त्यस्ता मूर्ति भेटाएर फिर्ता ल्याउने प्रक्रियाहरु भइरहेको तथा केही फिर्ता पनि ल्याइसकिएको छ ।

ललितपुरको पाटनबाट हराएको ३७ वर्षपछि लक्ष्मीनारायणको मूर्ति अमेरिकाले नेपाललाई दिनु यसको एउटा उदाहरण हो । गत वर्षको फागुनमा अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले लक्ष्मी नारायणको मूर्तिलाई वासिङटन डीसीस्थित नेपाली राजदूतावासमा बुझाएको थियो ।

चोरी भएका पुरातात्विक सम्पदालाई कानुन कार्यान्वयन गर्ने निकायसँगको सहकार्य र कूटनीतिक प्रयासमार्फत फिर्ता गर्न सफल भएको हो । उक्त मूर्ति गत मंसिरमा पाटनमा प्रतिस्थापन पनि गरिसकिएको छ ।

तर, मूर्ति चोरीको श्रृंखलामा भने कमी आउन नसक्नु चिन्ताजनक भएको पुरातत्वविद्हरु बताउँछन् । प्रहरीका अनुसार मूर्ति चोरीमा संगठित समूह नै सक्रिय भई योजनाबद्ध रुपमा काम भइरहेको अनुमान छ । धेरै पुरानो र महत्व बोकेका मूर्ति विदेशमा तस्करी हुने गरेको छ भने सामान्य मूर्तिलाई फेरि रंगरोगन गरी नेपाली बजारमै बिक्री हुने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मूर्ति चोरीपछि देशभित्र र बाहिरसम्म हुनसक्ने तस्करीलाई दृष्टिगत गरी अनुसन्धान अघि बढाएको बताएका छन ।

बालकुमारीको मूर्ति चोरी भएको विषयमा परिसर र महानगरीय अपराध महाशाखाले टोली नै बनाएर अनुसन्धान अघि बढाएको छ । उपत्यकादेखि देशभर नै मूर्तिको तस्बिर पठाएर खोजी गरिरहेका छ ।

चोरीका यस्ता मूर्ति नेपाली बजारदेखि विदेशसम्म पुग्न गरेका छन। विदेशमा तस्करी हुनसक्ने तथ्यलाई पनि ध्यानमा दिई अनुसन्धान गरिरहेको छ। प्रहरीले इन्टरपोलमार्फत पनि खोजीका लागि प्रक्रिया अघि बढाएको छ ।

पुरातात्विक सम्पदा संरक्षणमा लागिरहेका अभियन्ताहरू मूर्ति चोरीको समस्या विकराल बन्दै गए पनि सरकारी निकायबाट संरक्षणका लागि भएका पहल सन्तोषजनक नरहेको बताउँछन् । स्थानीयदेखि सरकारसम्मको सहकार्य भएमा पुरातात्विक सम्पदा संरक्षण मात्र नभई चोरी भएका मूर्ति पनि पत्ता लगाउन र फिर्ता गर्न सफल हुने विश्वास गर्नुपर्ने बाध्यता छ ।

अर्कोतर्फ प्रहरीले चोरीका मूर्ति फेला पारे पनि त्यसको संरक्षण हुन सकेको छैन । उपत्यकाकै केही प्रहरी कार्यालयमा फेला पारिएको मूर्ति अलपत्रमा अवस्थामा देख्न सकिन्छ ।

न्युरोडस्थित जनसेवा प्रहरी वृत्तमा नै १५ वटा मूर्ति र अरु पुरातात्विक सम्पदा अलपत्र अवस्थामा रहेका छन् । प्रहरीमा फिर्ता आए पनि यस्ता सम्पदाको दाबी गर्न कोही नआउँदा अलपत्र परेका छन। भूकम्पपछि प्रहरीमा यस्ता कलाकृति आउने संख्या झनै बढेको छ ।

IME Life
kumari