पर्यटन बोर्डको सिईओ हुन युवराज लामाको सकृयता सुरू
काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओ पद रिक्त हुन बाँकी रहेकै बेला राष्ट्रिय खेलकुद परिषदको पुर्व सदस्य सचिव तथा फिल्म निर्माता होटल व्यवसायी युवराज लामा सो पदमा नियुक्ति खान सकृय हुन थालेका छन् ।
बोर्डका विवादास्पद बहालवाला सीईओ धनञ्जय रेग्मीले राजीनामा दिइसकेका छैनन भने बोर्ड बैठकले बर्खास्त पनि गरेको छैन । तर, बोर्डको सीईओ पद खाली हुने चर्चा भने पर्यटन क्षेत्रमा व्यापक भइरहेको छ । त्यसैले आकांक्षीहरुले चलखेल गर्न थालेको पर्यटन व्यवसायीहरुले बताएका छन ।
अहिले नै सीईओको दाबेदारका रुपमा कोही देखिएका छैनन । तर, चलचित्र कर्मी, खेलकुदकर्मी र होटल व्यवसायी समेत रहेका युवराज लामाको नाम सीईओका लागि चर्चामा आउन थालेको छ ।
वारा जिल्लाको निजगढमा थ्रीस्टार लेभलको होटल सञ्चालन गरिरहेका लामाको नाम बोर्डको सीईओको रुपमा चर्चामा आएको झन्डै दुई हप्ता जति भएको छ ।
ठमेलका व्यवसायीहरुले लामा पर्यटन क्षेत्रमा लामो काम गरेका व्यक्ति नभएकोले उनको नामको विषयमा शंका पनि व्यक्त गरिरहेका छन् । तर, नेपाल खेलकुद परिषद्को सदस्य सचिव हुँदा लामाले निकै राम्रो काम गरेको र सफल सदस्य सचिवको रुपमा नाम कमाएकोले पनि लामाको नाम बोर्डको सिईओमा चर्चा भएको छ।
लामा राजनीतिक रुपमा नेकपा ९माओवादी केन्द्र०सँग निकट भई परिषद्को सदस्यसचिव नियुक्त भएका थिए । अहिले औपचारिक रुपमा कुनै दलमा भने लागेका छैनन । वारा जिल्लाको बासिन्दा भएका कारण नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग पनि लामाको निकट सम्बन्ध रहेको छ । पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गर्न लामाले माधव नेपाल मार्फत लविङ गरिरहेका छन् । लामा क्षमतावान व्याक्ति हुन।






















