कोभिड महामारीमा पनि पर्यटक आगमन बृद्वि
काठमाडौं । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ ।
कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशंकित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसंख्याले लगाइ सकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ । पर्यटक आगमनको पछिल्लो आँकडाले पनि यसलाई पुष्टि गर्छ ।
अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा हवाई मार्ग भएर १६ हजार ९ सय ७५ विदेशी पर्यटक नेपाल आएका छन् ।
अघिल्लो सन् २०२१ को सोही महिनामा ८ हजार ८ सय ७४ विदेशी पर्यटक नेपाल आएका थिए । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९१.३ प्रतिशत बढी हो । जनवरीमा नेपालबाट १७ हजार ९ सय ८४ विदेशी बाहिरिएका छन् ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको स्रोतको भनाइ छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेले महामारीको असहज परिस्थितिका बीच अहिलेको पर्यटक आगमनलाई सुधारात्मक र सकारात्मक मान्छन् ।
अघिल्लो वर्षको सोही महिनाको तुलनामा अहिलेको असहज परिस्थितमा पनि १६ हजार बढी पर्यटक भित्रिनु निकै सकारात्मक पक्ष हो। यसले के सन्देश दिन्छ भने नेपालमा अब नेपालमा वास्तविक पर्यटक आउन थाले। पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा पैदा भएको छ। यो संख्या हेर्दा नेपालमा पर्यटक आउन थालेको देखिन्छ।
यो पटक सार्क मुलुकबाट सबैभन्दा बढी ५ हजार ५ सय ५ पर्यटक आएका छन् । यसमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै ३ हजार ९ सय १६ र बङ्गलादेशबाट १ हजार २ सय ३१ पर्यटक नेपाल भित्रिएका छन् ।
युरोपबाट ३ हजार ५ सय २७, एसिया तथा अन्य मुलुकबाट १ हजार १ सय १४, अमेरिका र क्यानाडाबाट ३ हजार ६ सय १८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट १ हजार २ सय ४० र अन्य मुलुकबाट १ हजार ९ सय ७५ पर्यटक नेपाल आएका छन् ।
सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ र सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको वोर्डले जनाएको छ ।





















