प्रहरीमा वृत्ति विकास देखि बिओपी गठनसम्म गृह मन्त्री खाँणको छ महिने उपलब्धि
काठमाडौं । सरकारका गृह मन्त्री बालकृष्ण खाँणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् ।
मन्त्री खाँणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएका तर पुरा हुन नसकेका अधिकांश कार्यहरु रहेका छन् । उनले ती सबै कामहरुलाई उपलब्धीको विवरणमा समावेश गरेका छन् ।
मन्त्री खाँणको उपलब्धीमध्ये सबैभन्दा चर्चित काम प्रहरी नियमावलीमा नवौं संशोधन रहेको छ । यसै संशोधन मार्फत प्रहरीमा सहायक तथा श्रेणीविहीन दर्जामा वर्षौंदेखि एउटै पदमा कार्यरत रहनुपर्ने अवस्थाको अन्त्य गरी वृत्ति विकासलाई थप अनुमानयोग्य बनाइएको छ । त्यसको लागि राजपत्र अनङ्कित तर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार गरी तीन तह तथा श्रेणीविहीन तर्फ द्वितीयदेखि पञ्चम स्तरसम्म चार तह गरी जम्मा सात तह थप दरबन्दी सिर्जना गरी ती पदहरूमा बढुवाबाट पदपूर्ति हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यो व्यवस्थाबाट १,८९० जना श्रेणीविहीन, १४,५५२ जना प्रहरी जवान, ३,३८३ जना प्रहरी हवलदार र १,१७९ वरिष्ठ नायब निरीक्षक गरी जम्मा २१,००४ प्रहरी कर्मचारीहरूको तहवृद्धि हुने भएको छ ।
यस्तै प्रहरीको रासन भत्ता १५ प्रतिशतले वृद्धि गरिएको छ । ट्राफिक प्रहरीतर्फ कार्यालय सहयोगीदेखि प्रहरी हवल्दारसम्म शुरु तलब स्केलको ४० प्रतिशत प्रहरी सहायक निरीक्षकदेखि प्रहरी निरीक्षकसम्म २० प्रतिशत र प्रहरी निरीक्षकदेखि प्रहरी नायव उपरीक्षकसम्म १० प्रतिशतका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । प्रहरी सङ्गठनभित्र सकल दर्जाका कर्मचारीहरूलाई आदरार्थी शब्द प्रयोग गर्ने निर्देशन दिइएको समेत मन्त्री खाँणको उपलब्धीभित्रै परेका छन् ।
दलित समुदायका व्यक्तिहरूले प्रहरी कार्यालयबाट पाउने सेवा सुविधा छिटोछरितो र सहज रूपमा प्राप्त गर्नका तथा दलित व्यक्तिहरूसँग सम्बन्धित मुद्दा मामिलामा सहजीकरण गर्न सामाजिक सहायता कक्षको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै सुरक्षाका लागि पछिल्लो ६ महिनामा मात्र महानगरीय प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरूमा गरी कुल ९५० थान सिसिटिभि क्यामेरा जडान गरिएको मन्त्रालयले जनाएको छ । यस्तै थप ३ स्थान सहित हालसम्म मुलुकका विभिन्न सीमाक्षेत्रमा गरी सशस्त्र प्रहरीको कूल बिओपि संख्या २२७ पुगेको मन्त्रालयले जनाएको छ ।
विभिन्न जलविद्युत तथा आयोजना, महत्वपूर्ण प्रतिष्ठान, कुटनीतिक नियोग, रेल्वे गरी २५ स्थानमा सशस्त्र प्रहरीवाट सुरक्षा व्यावस्थापन गरिएको छ । गृह मन्त्रालय र प्रदेश नं २ (हाल मधेश प्रदेश) को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरको धनुषामा कात्तिक २२ गते सम्पन्न भएकोलाई समेत मन्त्री खाणको उपलब्धी मानिएको छ ।
यस्तै मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न मुलकका गरी १५४ जनालाई पछिल्लो ६ महिनामा निष्काशन गरिएका मन्त्रालयले जनाएको छ ।
सार्वजनिक सेवाप्रवाहमा लाग्ने समय एक तिहाइले घटाउने गरी प्रशासनिक सुधारका लागि सेवाप्रवाहलाई प्रविधिमैत्री बनाइएको, सिस्टम जेनेरेटेड क्यूआर कोड सहितको डिजिटल भिषा लागु गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री खाँणको पहलमा जनतालाई उपलब्ध गराउने सेवालाई जनमैत्री, छिटो, छरितो, सुलभ कम खर्चिलो एवंम झन्झटमुक्त बनाउने सम्बन्धमा यस विभाग अन्तर्गतका पोखरा र काँकडभिट्टा अध्यागमन कार्यालयहरुलाई थप अधिकार प्रत्यायेजन गरी पर्यटक भिसा, नाता भिसा र बैवाहिक भिसा जारी गर्ने गरेको छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वतयारी गरिएको बताइएको छ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वतयारी गरिएको छ । यस्तै लागूऔषध ओसारपसार तथा सेवनलाई निरुत्साहित गर्न जम्मा ३० वटा लागू औषध उपचार तथा पुनस्र्थापना केन्द्रलाई मन्त्रालयमा आवद्ध गरिएको छ ।
लागु औषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजनाको मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो ६ महिनामा मुलुकभर विभिन्न प्रकारका लागुऔषध सहित नेपाली नागरिक २१८३ जना, भारतीय नागरिक ५८ जना र विदेशी नागरिक ५ जना गरी कुल २२४६ जना पक्राउ गरिएको छ । प
क्राउ गरिएका ब्यक्तिहरूबाट ठूलो मात्रामा गाँजा चरेस हेरोइन अफिम कोकिन लगायतका लागु औषध बरामद गरिएको जनाएको छ। लागु औषधका प्रयोगकर्ताबाट आपूर्तिकर्तासम्म पुग्न प्रहरी सफल भएको छ ।
मन्त्रालयका अनुसार थप १७२ समेत गरी हालसम्म कुल ६५४ स्थानीय तहमा बैकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको छ । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको लागि डाटा सेन्टर र रिकभरीको स्थापना भएको छ ।
विगत छ महिनामा थप ६६४ वडा कार्यालयमा अनलाईन घटना दर्ता विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।
भारतीय अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन लगायतका पूर्वधार निर्माण गर्ने सम्बन्धमा खरिद कार्य अगाडि बढाइएका मन्त्रालयले जनाएको छ ।
नेपाल प्रहरीतर्फ ६५ वटा भवनको निर्माण कार्य जारी रहेको छ । यस्तै मोरङ्ग र पाँचथरको नयाँ कारागार भवन निर्माण कार्य तीब्रताकासाथ भइरहेको छ । बाँकेको गनापुरमा खुला कारागार संचालनका लागि प्रशासनिक र सुरक्षा भवनको निर्माण कार्य अन्तिम अवस्थामा रहेको छ ।
यसका लागि खुला कारागार सञ्चालन नियमावलीको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।























