citizens life insurance long ad
stcnepal long ad

दूधको मूल्य निर्धारण एक साताभित्रै गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य सम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयनमा ल्याउन उद्योगी तथा किसानका प्रतिनिधिले सुझाव दिएका छन् । सरकारले तयार पारेको सो प्रतिवेदनले हाल कायम रहेको दूधको मूल्यमा प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ । हाल दूधको मूल्य प्रतिलिटर ७६ रुपियाँ छ ।

कृषिमन्त्री महिन्द्रराय यादवले सरोकारवालासँग छलफल सकिएको र उनीहरूको सुझावअनुसार चाँडै नै दूधको मूल्य घोषणा गर्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “दूधको नयाँ मूल्य मन्त्रिपरिषद्बाट पारित गराउने कि मन्त्रालयबाट पारित गराउने भन्नेबारे छलफल हुन्छ । यसअघि उखुको मूल्यलगायत अन्य बालीको मूल्य निर्धारण मन्त्रिपरिषद्बाट भएको हुनाले दूधको मूल्य पनि सोहीअनुसार गर्ने सोच छ तर यस विषयमा मन्त्रालयमा छलफल गरेर मात्र अगाडि बढ्छौँ । ” उहाँले यसै हप्ताभित्र दूधको मूल्य घोषणा गर्ने जानकारी दिनुभयो ।

कृषि मन्त्रालयका सहसचिव एवं पशुपन्छी तथा मत्स्य विकास महाशाखाका प्रमुख डा। लोकनाथ पौडेलले सरोकारवालासँग छलफल गरेपछि उपभोक्ता मूल्य ८६ रुपियाँ नै राख्ने कि त्यसलाई घटाउने भन्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको प्रतिवेदनबारेमा मन्त्रालयले किसान, उद्योगी तथा उपभोक्ताका प्रतिनिधिसँग छलफल गरेको छ । सो छलफलमा उपभोक्ता मञ्चले मूल्य वृद्धिप्रति असहमति जनाए पनि डेरी उद्योग र किसानले मूल्यप्रति समर्थन जनाउँदै त्यसालई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् ।

प्रतिवेदनले दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गर्न सुझाव दिएको छ । हाल प्रशोधित दूधको मूल्य प्रतिलिटर ७६ रुपियाँ छ ।

बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदनअनुसार त्यसमा १० रुपियाँ वृद्धि गरी प्रतिलिटर ८६ रुपियाँ बनाएको हो । १० रुपियाँमध्ये प्रतिलिटर सात रुपियाँ किसानलाई र तीन रुपियाँ उद्योगीलाई जान्छ । ८६ रुपियाँ प्रतिलिटरमा दुई रुपियाँ मुनाफा राखिएको छ ।

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ देखाएको छ । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपियाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरिएको छ । त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपियाँ कायम गरिएको छ ।

IME Life
kumari