citizens life insurance long ad
stcnepal long ad

स्वच्छ उर्जा प्रयोग गर्न मन्त्री भूषालको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनका लागि आफूले ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्ने नीति लिएको बताएकी छन्। ‘विद्युत स्वच्छ ऊर्जा हो, यसलाई जीवन व्यवहारमा सहज बनाउँदै लैजानुपर्छ’, उनले भनिन्।

नेपाल सौर्य विद्युत उत्पादक संघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति आफूले अगाडि बढाएको बताइन्। उनले भनिन्, ‘विद्युत् खपत हुँदा परम्परागत ऊर्जा खपतमा कमी आई स्वच्छ ऊर्जाको प्रयोगमा बढोत्तरी हुन्छ।’

प्रविधिका कारण तुलनात्मक रूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र छोटो समयमा उत्पादन गर्न सकिने भएकाले ऊर्जा संकट समाधानका लागि सौर्य विद्युत सहयोगी हुने पनि मन्त्री भुसालको तर्क गरेकी छिन्।

सौर्य ऊर्जा उत्पादन दिनको समयमा मात्रै हुने भए पनि पछिल्लो समय विकास भएका अवधारणाले त्यसलाई झनै सहज बनाउँदै लगेको उल्लेख गर्दै उनले भनिन्, ‘पछिल्लो समय ‘वान शन, वान वल्ड, वान ग्रिड’को अवधारणा विकास भएको छ। यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजानेछ।’

नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोतहरु भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गर्नुपर्ने र व्यवस्थापनको चुनौति पनि बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा भुसालले जोड दिएकी छिन्।

परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै उनले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औँल्याएकी छिन।

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा विश्व नै लागेको उल्लेख गर्दै भुसालले नेपालले पनि नवीकरणीय ऊर्जा प्रयोगको नीतिलाई अबलम्बन गर्दै जानुपर्ने आवश्यकता रहेको बताइन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलन(कोप–२६) मा नेपालले गरेको प्रतिबद्धता पूरा गर्नका लागि पनि नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताइन्।

सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रीत ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै मन्त्री भुसालले १० प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताइन्।

‘वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यत सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुन्’, उनले भनिन्।

हाल ऊर्जा प्रणालीमा करिब २१ सय मेगावाट विद्युत जडित क्षमता छ। १० प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत जडान गर्न सकिने मन्त्री भुसालको विश्वास रहेको छ।

उनका अनुसार हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत खरिदबिक्री सम्झौता९पीपीए० गरिसकेका छन्। तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ।

सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चूलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीहरुको प्रवर्द्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पुर्याउन र जनताको जीवनस्तर माथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताइन्।

मन्त्री भुसालले ६ वटा प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु विद्युत प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिइन्।

ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पीपीएलाई प्राथमिकतामा राखेको उनले बताइन्।

सौर्य विद्युत उत्पादकहरुले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा मन्त्री भुसालको जोड थियो।

 

IME Life
kumari