सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते प्रकाशित सूचना अनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरेको हो ।
त्रिविले खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्ति गर्ने गरी उक्त सूचना जारी गरेको थियो । अदालतले विश्वविद्यालय सभाले २०७८ मङ्सिर १४ को निर्णयबाट संशोधित शिक्षक कर्मचारी सेवास म्बन्धी नियमले पनि सूचना भइसकेको खुला प्रतिस्पर्धालाई असर नगरेको भन्दै प्रक्रिया अघि बढाउन आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६ को संशोधनमा अघि नै विज्ञापन भइसकेको खुला प्रतियोगितासम्बन्धी विज्ञापनलाई असर पर्ने कुनै बेहोरा उल्लेख नभएको हुँदा त्रिवि सेवा आयोगबाट मिति २०७७/११/०९ मा जारी सूचना बमोजिमको कारबाहीलाई लामो समयसम्म स्थगित नगरी सो विज्ञापन सम्बन्धी आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।”


























