हिमपात र वर्षा देशभर जनजीवन प्रभावित, हवाई उडानहरु अवरुद्ध
काठमाडौं । देशका विभिन्न स्थानमा हिमपात र वर्षाका कारण चिसो ह्वात्तै बढ्दा जनजीवन प्रभावित बनेको छ।
देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ।
पर्यटकीयस्थल चन्द्रागिरि डाँडा, फुलचोकी, ककनी डाडामा बुधबार बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण चन्द्रागिरि,फुलचोकी, ककनी क्षेत्र सेताम्य भएको छ। हिजो रातीदेखि नै काठमाडौं उपत्यकामा हल्का वर्षा भैरहेको छ।
उता सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिजो मंगलबार रातिदेखि हिमपातसँगै वर्षा भइरहेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानी लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ। बाजुरा, बझाङ, डोटी, दार्चुलाका हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ।
कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्र पनि गत मंगलबार रातिदेखि नै हिमपात र वर्षा भइरहेको छ। उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ। हिमाली जिल्ला मुगु र हुम्लामा पनि हिमापात भइरहेको छ।
यसैबीच प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन्। मंगलबार रातिदेखि नै काठमाण्डौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ।
एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको जनाएका छन्। डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्द भएका छन्। पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि उडान हुन सकेको छैन।























