विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो हुँदैन :अर्थ मन्त्री शर्मा
काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आज बधुबार गरेको नवउत्थान सम्मेलनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने पनि बताउदै भने ( ‘विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेरमात्र व्यापार घाटा कम गर्न सकिन्छ। विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरुलाई उपलब्ध गराउनुपर्छ।’
अहिले विद्युत बिक्री गर्नुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरण चिन्ता गरिरहेको उल्लेख गर्दै शर्माले विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो नहुने तर्क गरेका छन।
बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरुलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
‘विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ। एकातिर विद्युत खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन। यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन।’ उनले भने।
नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिएका छन। यसलाई आगामी आर्थिक वर्षमा समेटिनेसमेत उनले उल्लेख गरेका छन।
मन्त्री शर्माले कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्यांक बनाएर विद्युत उपलब्ध गराउनुपर्ने बताएका छन।
विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत सहुलियतमा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएका छन्।
यसले मुलुकलाई उत्पादनुमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने उनले विश्वास व्यक्त गरेका छन्। यस्तै निजी क्षेत्रले मुलुकको ग्राहस्थ उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्दै मन्त्री शर्माले निजी क्षेत्रकै सुझाव अनुसार आगामी नीति तय गरिने पनि बताएका छन्।






















