citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दुबइका लागि थप्यो उडान

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबइ गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबइमा सातामा सातवटा उडान गर्दै आएकोमा आज (आइतबार) देखि थप दुई उडान थपेर सातामा ९ उडान भर्ने भएको हो ।

दुबइ गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि सो अवसरमा सहभागिता थियो ।

यस अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिए । उनले निगमका जहाज ग्राउण्डेड भन्दा आकासमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गरे ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताए ।

दुबइमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न क्रममा रहेका नेपालीको बाहुल्यता छ । यो गन्तव्यमा नेपाल एयरलाइन्सले यसअघि सातामा सात उडान गर्दै आएको थियो । थपिएको उडान साताको आइतबार र बुधबार गरिनेछ ।

यस दिन दैनिक दुई उडान हुनेछ । काठमाडौंबाट बिहान ११ बजे उडेको जहाज दुबइमा उडान भरेर साँझ काठमाडौं नै फर्किने छ । व्यापारिक हिसावले पनि निगमका लागि दुबइ उपयोगी गन्तव्य मानिन्छ ।

एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले सातामा १४ उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सले हाल दोहामा पाँच उडान गरिरहेको छ ।

नेपाल एयरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमकाअनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ ।

महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दैआएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन् ।रासस

himalayan life insurance
igi long