मंसिर २९ गते एनआरएनको चुनाव हुने

काठमाडौँ । गैरआवासीय नेपाली सङस्घको स्थगित महाधिवेशन र निर्वाचनको नयाँ मिति तय भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँगको परामर्शका आधारमा नयाँ मिति तय गरिएको जनाउनु भएको छ ।
अध्यक्ष पन्तले प्रेस विज्ञप्ति जारी गर्दै दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी पुस २ र ३ गते हुने जानकारी दिनुभएको छ । त्यस्तै निर्वाचन भने मंसिर २९ गते हुने गरी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
गत महिनाका लागि तय भएको महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरूप स्थगित भएको थियो । परराष्ट्रमन्त्रीसँग भएको वार्तामा संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनबारे प्राप्त असहमति बारे मार्गचित्र समेत प्रस्तुत गरेको जनाइएको छ ।
संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयका आधारमा महाधिवेशन प्रतिनिधिहरूको सूची निर्वाचन समितिलाई आजै बुझाइने जनाइएको छ । संघको निर्वाचनका लागि सम्पूर्ण तयारीमा जुटस्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अध्यक्ष पन्तले आग्रह गर्नुभएको छ ।