९७ रोपनी क्षेत्रफलमा मन्त्रीहरुलाई एक अर्बको क्वार्टर ललितपुरको भैँसेपाटीमा

आर्थिक सञ्जाल । शुक्रबार, ७ चैत्र २०७६
काठमाडौं । मन्त्रीहरुका लागि सरकारी निवास (क्वार्टर) ललितपुरको भैँसेपाटीमा निर्माणको काम धमाधम अघि बढिरहेको छ । मन्त्रीहरुका लागि पुल्चोक क्वार्टरमा पर्याप्त भवन नभएपछि सरकारले भैँसेपाटीमा अत्याधुनिक भवन निर्माण अघि बढाएको हो । केसी समानान्तर जेभीले मन्त्रि निवासको निर्माणको ठेक्का पाएको छ । भैँसेपाटी क्वार्टरमा संघीय मन्त्रीपरिषदका २४ जना मन्त्री, प्रतिनिधि सभाका उपसभामुख एक् जना, राष्ट्रिय सभाका उपाध्यक्ष एक जना र अध्यक्ष एक जनाको बसोबासका लागि २८ वटा अलग अलग अत्याधुनिक निवासहरू बनिरहेका छन् ।
आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण भैरहेका क्वार्टरको २०७६ असोज १३ गते प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए । भैसेपाटीमा मन्त्री निवास निर्माण गर्ने निर्णय सरकारले १२ मंसिर २०७५ गरेको थियो । ९७ रोपनी क्षेत्रफलमा निर्माण भैइरहेको मन्त्रिनिवासको लागत १अर्ब ३ करोड रुपैयाँ छ ।
बिहीबार प्रधानमन्त्रीका पूर्वाधार बिशेषज्ञ, प्रेस सल्लाहकार सहितको टोलीले निर्माण कार्यको स्थलगत अनुगमन गरेको थियो । विसं २०७९ को आम चुनाव अगावै मन्त्रीहरूको सरकारी निवास पुल्चोकबाट भैसेपाटी सार्ने तयारी सरकारको रहेको छ ।
हाल मन्त्री निवास रहेको पुल्चोकमा विसं २०२८ मा १४ वटा र विसं २०५४ मा पाँच वटा भवन निर्माण गरिएका थिए ।