कोरोनाकै कारण अर्थतन्त्रमा समस्या आउँदैन : अर्थमन्त्री
’काम गर्न चाहने व्यक्तिले आफ्नो नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगारी दिन्छ,’ मन्त्री खतिवडाले भने । उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिन सक्ने बताए । तर टेबल वर्क मात्र गर्छु भन्नेलाई भने सरकारले रोजगारी दिइहाल्न नसक्ने पनि उनले जनाउ दिए ।
उद्योगको प्रकृति फरक फरक भएकाले कर तिर्ने समय कसरी पर सार्ने भनेर निर्णय गर्न केही छलफल गर्नुपर्छ । जसका कारण केही समय लागेको उनले बताए । कोरोनाले पर्यटन क्षेत्रलाई छिटो प्रभावित गरेको भन्दै हवाइ र होटलका साथै यससँग सम्बन्धित अन्य क्षेत्र प्रभावित भएको अर्थमन्त्री खतिवडाले अवगत गराए ।
अर्थमन्त्री खतिवडाले भने, ’फेब्रुवरी र मार्चको सिजनमा क्षति पुगेको छ । अब यसको भरपाइ गर्न अफसिजनमा पर्यटक ल्याउने रणनीति बनाउन थालेका छौं ।’ खतिवडाले पर्यटन क्षेत्रका अस्थायी श्रमिक तथा कर्मचारीलाई समस्या हुन सक्ने भन्दै उनीहरुको समस्या समाधान गर्न कल्याणकारी कोष परिचालन गर्ने बारेमा छलफल भइरहेको बताए । उनले अहिले विप्रेषण अघिल्लो वर्षकै वरिपरि रहेको भन्दै यसबाट ठूलो समस्या परिहाल्छ भन्ने अवस्था नरहेको पनि बताए ।

























