stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

२ सिफ्टमा बजारका खसी, बोका, भेडा च्याङ्ग्रा परीक्षण सुरु

स्वस्थ्य पशुजन्य उत्पादनबाट स्वच्छ मासु उपभोग गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्नु, परीक्षणको उद्देश्य हो — डा. झा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आजबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो ।

परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा.गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङ्मा हरियो रङ् लगाएर परीक्षण थालनी गर्नुभएको थियो ।

कलंकी काठमाडौँको ठूलो चौपाया बजार हो । यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्छन् ।

वडाध्यक्ष सापकोटाले परीक्षणका क्रममा भन्नुभयो, ‘संघको सहयोगमा हामीले यहाँका धेरै जसो व्यापारी व्यवसाय दर्ता गराएका छौँ । दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ ।’

हामी पशुजन्य उत्पादन स्वस्थ्य र यसको बजार सहज होस् भन्ने चाहन्छौँ । यसका लागि कामहरु नियमित छन् ।

पशु सेवा विभागकी महानिर्देशक डा. श्रेष्ठ भन्नुहुन्छ, ‘दशैमा धेरै मासु खपत हुने भएकोले विशेष समूह बनाएर बजारमा आएका हौँ ।’

महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाकाअनुसार, पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ । यदि मासु खान योग्य देखियो भने सिंहमा हरियो रङ्ग लगाइन्छ ।

विरामी भएर खान अयोग्य भेटियो भने सिंङ्मा रातो रङ्ग लगाइन्छ । आवश्यकताका आधारमा यसरी विरामी भेटिएका चौपायाको नमूना संकलन गरेर परीक्षण पनि हुनेछ ।

महानगरभित्रका दशैँ लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् ।

महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन हुनेछन् ।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदैछ ।

सामान्यतया चौपायाको मूल्य माग र आपूर्तिमा निर्भर हुने गरेको छ । काठमाडौँ चौपाया खरिद विक्री प्रा. लि. का सञ्चालक व्यवस्थापक जीवन खतिवडा भन्नुहुन्छ, ‘यो भण्डारण हुने सामान होइन । आएका चौपाया छिटो पठाउन र मुल्य नबढोस् भन्नेमा हामी सजग छौँ ।

मूल्य नियन्त्रण सबैको प्रयासबाट सम्भव हुन्छ । हामी चाहन्छौँ, बजार नछिरी सडकमा सवारी आवागमन रोकिने गरी व्यापार नहोस् । सबैलाई घाटा छ ।’

बजारमा टोलीले चौपायाको स्वास्थ्य परीक्षणसँगै व्यापारी र उपभोक्तलाई स्वच्छ र स्वस्थ्य मासुजन्य खाद्यबस्तुको उत्पादनर कोविड १९ को सम्भावित संक्रमणबाट जोगिन सचेतना बढाउने काम गरिरहेको छ ।

रोगी पशुपन्छीको ओसार पसार, नगरौं, महानगरले तोकेको ठाउँमा मात्र चौपायाको बिक्री वितरण गरौं । स्वस्थ्यताको चिनो (हरियो रङ्ग) भएका चौपाया मात्र खरिद गरौं । मासु चिसोमा राखौं । राम्ररी पकाएर मात्र खाऔं ।

 

prabhu mahalaxmi
kumari