आजबाट पशुपतिनाथको मन्दिर खुल्यो

काठमाडौं। गत बैशाख १० गतेदेखि बन्द रहेको भगवान आराध्यदेव पशुपतिनाथको मन्दिर आज भदौं २५ गतेदेखि बिहान ५:३० बजेदेखि खुलेको छ।
नयाँ भेरियन्ट सहितको कोरोनाबाट बच्न भक्तजनलाई दर्शनका लागि साँढे चार महिनादेखि बन्द गरिएको थियो । आज खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने भएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एक पटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउने गरिएको पाइएको छ ।
मन्दिर प्रवेशका लागि भक्तजनले २ मिटरको भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । विशेष पूजा भने खुला गरिएको छैन्।
आज बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको थियो। हिजो हरितालिका तिज भएको र भक्तजन महिलाहरूको धेरै भिडभाड हुने भएकाले यसपालिको तिजमा पशुपतिनाथको दर्शनका लागि ढोका नखोली आजबाट खोलिएको हो।
साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा गत बिहीबार कोषले क्षमापूजा गरेको थियो ।
विसं २०७६ चैतमा नेपालमा पहिलो पटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर गत २०७७ पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने २०७७ फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो ।
महाशिवरात्रिका अवसरमा गत २०७७ फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय मन्दिर खुला गरिएको थियो ।
यस पटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविक बमोजिम नै मन्दिर खुला लगायत निर्णय गरिने कोषले जनाएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द गरिएको छ ।
आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायक लगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको कोषले जनाएको छ ।
आज गणेश चतुर्थी चौथी पर्व परेकाले चन्द्रविनायक मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरूको भीडभाड बढेको छ ।