‘उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गर्ने पक्राउ’
काठमाडौं । आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरि नपाएको ओहोदा वा पद पाएको भनि भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्यानमा पारी व्यक्तिगत लाभ लिने उदेश्यले ठगी गर्ने केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले गत साउन २६ गते डोटी जिल्ला के.आई.सिंह गाउँपालिका वडा नं ६ स्थायी घर भई हाल किर्तिपुर नगरपालिका वडा नं–७ काठमाडौं बस्ने बर्ष २६ को किशोर र कुशल भट्ट भनिने केशवराज भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरि निजको बारेमा थप आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।
प्रहरीले अन्य कोही व्यक्तिहरु निजबाट पीडित भएको भए महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
अनुसन्धानबाट खुल्न आएको कुराः
यस अघि पनि मिति २०७५ चैत्र २६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा अपराध महाशाखाबाट भट्टलाई पक्राउ गरिएकोमा निजले १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
निजले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको समेत बुझिएको छ ।
पक्राउ व्यक्ति भट्टले आफुलाई कहिले किशोर भट्ट कहिले कुशल भट्ट भन्दै चिनाउने गरेको तर उसको वास्तविक नाम केशवराज भट्ट, उमेर २६ बर्ष, ठेगाना डोटी जिल्ला , केआईसिंह गाउँपालिका वडा नं– ६ रहेको प्रहरीले जानकारी दिएको छ।
निजको साथबाट बरामद गरेका सामानहरुमा निजले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन थान–१, केशवराज भट्ट नामको प्रभु बैंक लि.को एटिएम थान–१, किशोर भट्ट नामको त्रि–चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र थान–१, किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड थान–१ रहेको प्रहरीले जनाएको छ।
निजलाई प्रहरी हिरासतमा राखि ठगि र किर्ते अपराधमा मुद्दा चलाउन थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।






















