Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज माथिल्लो तामाकोशी जल विधुतको वालुवाटारवाट उदघाटन

civilbank long ad

काठमाडौ । निर्माणक्रममा अनेक समस्या झेल्दै, विवादमा तानिँदै र प्राकृतिक प्रकोपसँग जुध्दै आएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ४५६ मेगावाटको अन्ततः आज असार २१ गते ४: ३० बजे उद्घाटनको चरणमा पुगेको छ । यो राष्ट्रिय गौरवको विधुत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारवाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट रिमोटको बटन थिचेर साँझ ४:३० बजे आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

भर्चुअल माध्यमबाट हुने कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका अर्थ मन्त्री विष्णुप्रसाद पौडेल सहित चारजना नै मन्त्री,पुर्व सभामुख सुवास नेम्वाङ, उर्जा सचिव देवेन्द्र वहादुर कार्कीलगायत सरकारका उच्च पदाधिकारी सहभागी हुने कार्यक्रम छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी ९कोभिड–१९० का कारण आयोजनास्थलमा जाने वातावरण बन्न सकेन । यसो हुँदा भर्चुअल उद्घाटनको कार्यक्रममा महत्त्वपूर्ण राजनीतिक दलका नेता उपस्थित हुने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

ऊर्जा मन्त्री पौडेलसहित केही मन्त्री तथा सचिव देवेन्द्र कार्की हेलिकोप्टरबाट आयोजनास्थल जाने कार्यक्रम छ । तर, अवस्था प्रतिकूल रहेको हुँदा जाने कार्यक्रम निक्र्योल भइसकेको छैन । आयोजनास्थलमा भने केही स्थानीयलाई बोलाएर कार्यक्रम गर्ने तयारी छ ।

करिब एक महिना अगाडिदेखि परीक्षणका विभिन्न चरण पार गर्दै आयोजना विद्युत् उत्पादनको चरणसम्म पुगेको छ । ६ वटा युनिट जडित आयोजनाको विद्युतगृहमा अहिले एउटा (७६ मेगावाट) मा सञ्चालनमा आउनेछ । यसपछि, हरेक १५ दिनको फरकमा अरू युनिटहरू सञ्चालन गर्ने योजना छ ।

उत्पादित विद्युत् गोंगरस्थित विद्युतगृहबाट ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट खिम्ती सबस्टेसन पुर्याइन्छ । त्यहाँबाट ढल्केबरस्थित ४४०/२२० केभी सबस्टेसनमा पुर्याई वितरण हुनेछ । अहिले प्रसारण लाइनको काम समेत पूरा भएको छ ।

२०६७ भदौमा सिभिल निर्माण सुरु भएको आयोजनाले करिब ११ वर्ष समय व्यतित गरेको छ । सिभिल निर्माणदेखि उद्घाटनसम्मको समय हिसाब गर्दा यसले १० वर्ष ९ महिना २० दिन बितेको छ ।

शिलन्यासदेखिको समय गणना गर्दा १० वर्ष १ महिना १७ दिन हुन्छ । विगत लामो समयदेखि हरेक जलविद्युत् तथा प्रसारण लाइन निर्माणले एक दशक गुजारेको अभ्यास तामाकोसीले पनि निरन्तरता दिएको छ । तत्कालीन प्रधानमन्त्री झनाथ खनालले २०६८ जेठ ४ गते आयोजनाको विद्युतगृह निर्माणस्थल दोलखाको गोंगर पुगेर आयोजना शिलन्यास गरेका थिए ।

त्यतिबेला नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्ट ऊर्जा मन्त्री थिए भने हालका अर्थ मन्त्री पौडेल सोही जिम्मेवारीमा थिए । यस मानेमा पौडेललाई शिलन्यास र उद्घाटन गर्ने महत्त्वपूर्ण संयोग जुरेको छ । यस पटक त उनले ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।

आयोजनाको निर्माण सुरु हुँदा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री थिए । त्यसपछि, खनाल, डा।बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । वर्तमान प्रधानमन्त्री ओली दोस्रो पटक पदमा आसिन छन् ।

एउटा आयोजनाको निर्माण पूरा गर्दासम्म देशमा ८ जना प्रधानमन्त्रीले शासन गर्नु अचम्म र उदेकलाग्दो कुरा हो । ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नेताको संख्या पनि झन्डै दर्जन पुगेको देखिन्छ ।

यसैगरी, आयोजना अध्ययनको चरणमा प्राधिकरणमा अर्जुनकुमार कार्की कार्यकारी निर्देशक थिए । खासमा उनैले यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्नुपर्छ भनेर सरकारदेखि विभिन्न निकायमा लबिङ गरेका थिए । आयोजना देशकै स्रोतबाट निर्माण गर्नुपर्छ भन्नेमा अडिग रहनेमा दोलखा काँग्रेसका नेता भीमबहादुर तामाङको नाम पनि आउछ।

तामाकोसी निर्माणको चरणमा आधा दर्जन जति कार्यकारी निर्देशकले जिम्मेवारी सम्हाले । अन्तमा हितेन्द्रदेव शाक्य उक्त पदमा हुँदा विद्युत् उत्पादन हुन पुग्यो । यसमा विगतदेखिका कर्मचारी, कार्यकारी निर्देशक वा सरकारका अन्य पदाधिकारीले आयोजना निर्माण चरणमा होस्टेमा हैंसे गरेकै हुन् । यद्यपि, समयमा पूरा हुन नसक्नु दुर्भाग्य नै हो ।

२०६७ भदौमा मुख्य संरचनाको निर्माण सुरु गरी ६ वर्ष अर्थात् २०७३ असारमा सम्पूर्ण काम पूरा गर्ने लक्ष्य थियो । तर, मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ सालमा गएको भूकम्प, लगत्तै भारतले गरेको नाकाबन्दी, कामदारको अवरोध हुँदै कोरोना महामारीले निर्माणलाई झन्डै ५ वर्ष पछाडि धकेलिदियो ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता ९४५६ मेगावाट० उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । यसो हुँदा विद्युत्को उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जानकारी दिएको छ ।

देशमा हाल सञ्चालनमा रहेको सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ को तुलनामा तामाकोसी ३ गुणाभन्दा ठूलो छ । जसबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ । जबकि, कालीगण्डकीबाट वार्षिक ८५ करोड युनिट उत्पादन भइरहेको छ ।

सुरुमा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, अहिले यो करिब ८० अर्ब रुपैयाँ पुगिसकेको छ । जसमा गोंगरदेखि खिम्तीसम्मको ४७।२ किलोमिटर प्रसारण लाइनको लागतसमेत जोडिएको छ ।

सुरुमा प्रतिमेगावाट ९।३२ करोड रुपैया लागत अनुमान गरिएको आयोजना अहिले १८.६४ करोड रुपैयाँ पुगेको देखिन्छ । यद्यपि, यसलाई वास्तविक लागत अनुमान गर्न सकिँदैन । किनकि, आयोजनाको मात्र वास्तविक लागत निकाल्दा खिम्तीसम्मको प्रसारण लाइनको खर्च घटाउनुपर्ने हुन्छ ।
आयोजनाका अनुसार अहिले निर्माण लागत करिब ५५ अर्ब र बैंकको ब्याजमात्र ३४ अर्ब पुगेको छ ।

)(


२१ असार २०७८, सोमवार १३:१३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad