वीर अस्पतालको ठेक्का पार्टनरलाई
काठमाडौ । कोभिड–१९ उपचारका लागि युनिफाइड केन्द्रीय अस्पतालका रूपमा तोकिएको वीर अस्पतालमा भेन्टिलेटर खरिद गर्ने ठेक्का म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सले पाएसँगै खरिद प्रक्रियामा ‘सेटिङ’ भएका तथ्यहरू फेला परेका छन्।
स्रोतबाट प्राप्त कागजातहरूको अध्ययनबाट ठेक्का प्रक्रियामा नियोजित चलखेल भएको र यस कार्यमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमको संलग्नता देखिएको सर्वत्र आशंका गरिएको छ।
ठेक्का पाएको कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सको पार्टनरमध्ये एक हुन् डा. गौतम। तर, बाहिर देखाउँदा युवा संघका नेता सुन्दर भुसाललाई देखाइएको छ। डा. गौतम निकट एक व्यवसायीले भने, ‘यो गोलचक्कर बुझ्ने हो भने सुन्दर र जागेश्वरजीका साझेदारी व्यवसाय पहिल्याइयो भने स्पष्ट हुन्छ।’
सेयर कारोबारको एउटा कागजात अनुसार डा. जागेश्वर र सुन्दर भुसाल क्यान्भास एजुकेसन फाउन्डेसन प्रा।लि।का साझेदार रहेको स्पष्ट हुन्छ। डा. गौतमले मापदण्ड समेत नपुगेको म्याक्सिमलाई एकै दिन १२ करोड ४३ लाख रुपैयाँको भेन्टिलेटर खरिदको ठेक्का स्वीकृत गरेका छन् ।
गत शनिबार एक दैनिक पत्रिकामा प्रकाशित ठेक्का स्वीकृत भएको सूचनामा ‘प्रमुख प्रशासकीय अधिकारी स्तरीय’ निर्णय गरेर उक्त कम्पनीलाई ठेक्का दिइएको उल्लेख छ।























