बैंकिङ कसुरका मुद्दा बढ्दो, चितवनमात्रै ७ महिनामा ६३ वटा मुद्दा दर्ता
चितवन । मुलुकी अपराधसंहिता लागू भएसँगै जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीनवर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ ।
प्रहरीको तथ्याङ्कअनुसार चालू आव २०७६/७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५/७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैंकिङ कसुरमा मुद्दाहरु दर्ता हुने क्रम बढेको हो । संहिता लागू भएको वर्ष बैंकिङमा ६२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
यस्तै आव ०७४/०७५ मा बैंकिङ कसुर सम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोवारसँगै बैंकिङ कसुरका मुद्दाहरु बढ्दै गएको बताए । पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिक पीडित हुँदै गइरहेको उनको भनाइ थियो ।
जिल्लामा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको भए पनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उनले बताए । रासस