citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासङ्घले कुनै पनि बहानामा पत्रकारको रोजगारी नखोस्न चेतावनी दिएको हो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि पत्रकारलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारका निम्ति महासङ्घले कानुनी लडाइँ लड्नुको साथै दबाबमूलक काम गरिरहेको बताउनु भयो ।

महासङ्घले कोभिडको दोस्रो लहरमा निष्कासनमा परेका नौ जनाको पुनर्नियुक्ति समेत गराएको महासचिव पुरीले जानकारी दिनुभयो । त्यसैगरी पाँच सञ्चार माध्यमलाई सात दिनभित्र पत्रकारको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उहाँले जानकारी दिनुभयो ।

पुरीले भन्नुभयो, ‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । दोस्रो लहर सुरु भइसकेपछि हामीले नौ जनाको पुनर्नियुक्ति गरी समस्या समाधान गरेका छौँ । कानुनी लडाइँ र अन्य हिसाबले दबाबमूलक काम पनि पत्रकार महासङ्घले गरिरहेको छ ।

श्रम समस्यासँग जोडिएका पाँच सञ्चार माध्यमलाई सात दिनभित्र समस्या समाधान गर्न आग्रह पनि गरेका छौँ । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागलाई भेटेर विस्थापित भएकालाई पुनर्स्थापित गर्ने, पेसामा रहेकालाई पेसामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएका छौँ ।’

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने विडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । महासङ्घले महामारीको समयमा पत्रकार फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्ट लाइनरको परिभाषा भित्र पत्रकारलाई पनि समेटेर त्यही प्रकारको सेवा, सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

महासचिव पुरीले भन्नुभयो ‘सरकारलाई बारम्बार आग्रह गरेका छौँ । फ्रन्टलाइनरको परिभाषाभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकार लगायत सरसफाइकर्मीलाई एकै ठाउँमा राखेर सेवा, सुविधाको व्यवस्थापन र त्यही खालको समतामूलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ ।’

पत्रकार महासङ्घले कोरोना सङ्क्रमित पत्रकारलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा रहेको आवास गृहमा आइसोलेशन बेड निर्माण गरेको गरिएको छ ।

त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सकसहितको आइसोलेशन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा सङ्क्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भइ आएका पत्रकारलाई काठमाण्डौमा बेड मिलाउने, आईसीयू, भेन्टिलेटर मिलाउने जस्ता काम महासङ्घले गरिरहेको उहाँले बताउनुभयो ।

महासङ्घका अनुसार, जेठ २ गतेसम्म देशभर गरी झन्डै आठ सय जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । अहिले दुई सय ५० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

४० जनाको अस्पतालमा उपचार भइरहेको छ । ६ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ भने सङ्क्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।

himalayan life insurance
igi long