साँखुमा निषेधाज्ञा वीच बज्रयोगिनी जात्रा
काठमाडौ । शंखरापुर नगरपालिका साँखुमा आठ रात नौं दिन सम्म चल्ने बज्रयोगिनी जात्रा गत बैशाख १४ गते मंगलबारबाट शुरु भएको छ । यो बैशाख २२ गते समापन हुनेछ ।
आज जात्राको मुल पुजा भई बजार परिक्रमा गराउने कार्यक्रम रहेको छ। दिउँसो १२:०० बजेसम्ममा पुजा सकाएर अपरान्ह जात्रा चलाउने र बजार सहित चार टोलमा परिक्रमा गराउने तयारी स्थानीयले गरिरहेका छन।
हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर) बाट बज्रयोगिनीको मुर्तिसँगै चिभास्द्यस् (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।
बज्रयोगिनीको मन्दिरबाट भगवानलाई खटमा राखी तल साँखु बजारमा ल्याए सङ्गै सो जात्रा सुरु हुन्छ । पाँच थकाली गुर्जु सहित बज्रयोगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाएर तान्त्रिकदेवीको रुपमा रहेकी बज्रयोगिनीको पूजा अर्चाना गरिन्छ ।
जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याधिनी र स्वयम्भूको गरि चारवटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ।
साँखुमा यो जात्रा तीन हजार तीन सय वर्षदेखि मनाइँदै आइएको छ । नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झ्याली पिट्दै साँखुका ऐतिहासिक आठवटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुख शान्ति मिलोस् भन्दै जात्रा चलाइन्छ। जात्रा सुरु गर्न नायखीं बाजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने परम्परा छ । जात्रा अवधिभर साँखु नगरवासीहरु सबै समान होउन भन्ने उद्देश्य जुत्ता लगाउन, छाता, घोडा ओड्न नपाउने परम्परा सुरु गरिएको । त्यस्तै जात्रा अवधिभर निर्माण कार्य गर्दा दुर्घटना भएर मानिसको मृत्यु सक्ने भएकाले घर बनाउन र भत्काउन नपाइने चलन रहेको ।
चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रेयणी र चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन छ । जात्रा प्रत्येक वर्ष चार टोल सुनटोल, बज्रयोगिनी, पुकुलाछी र चलाखुका स्थानीयवासीले पालैपालो सञ्चालन गर्छन् । यस वर्षको जात्रा चलाउने जिम्मा चलाखु टोलको परेको छ ।
चलाखु टोलमा ४ दिन राखेपछि बजार परिक्रमा गराइने चलन रहि आएको छ । आज चलाखुमा पुजा गरि मुख्य जात्रा मनाइन्छ, शहर घुमाइन्छ। उपत्यकाभित्र मनाइने विभिन्न जात्रामध्ये यसलाई प्रमुख जात्राको रुपमा हेर्ने गरिन्छ।
राजा संखदेवले कालिगढ संम्बत १८०१ मा संखरापुर बस्ती “हालको साँखु” बसालेको भन्ने इतिहास मान्यता रहेको पाइन्छ । राजा संखदेवले बस्ती बसालिसकेपछि कालिगढ संम्बत १८१८ बाट बज्रयोगिनीको जात्रा सुरुवात भएको मान्यता रहिआएको छ ।
कोरोना भाइरस महामारीका कारण यस वर्षको जात्रा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर संचालन गरिने भने पनि १५० जना स्थानीय नेवार समुदायका मानिसहरूको साँखुको चलाखु टोलमा जात्रा मनाउन उपस्थिति रहेको छ।
शंखरापुर नगरपालिकाले जात्रा पर्व मनाउने सम्बन्धमा गत बैशाख १४ गते एक सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख सुवर्ण श्रेष्ठले जारी गरेको उक्त सुचनामा कोभिड १९ को संक्रमण अत्याधिक रुपमा बढ्न गएको कारणले शंखरापुर नगरपालिका भित्र मनाइने बज्रयोगिनी जात्रा नियमित रुपमा नित्य पुजा अर्चनाका लागि मात्र साँखु भित्र साबधानी पुर्वक मनाउन आवश्यक अपनाउनु पर्ने मापदण्ड सम्बन्धि मिति २०७८ बैशाख १२ गतेको आकस्मिक बैठकको निर्णय अनुसार निम्न मापदण्ड कडाइका साथ पालना गरि जात्रा संचालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । जात्रा सञ्चालनको
मापदण्डहरु निम्न रहेको छ :
१. जात्रा समितिले स्वयं सेवाकहरुको सुरक्षा प्रबन्ध मिलाउने।
२. माक्स स्यानिटाईजर अनिवार्य प्रयोग गर्ने भिड भाड नगर्ने।
३. सके सम्म पाहुनाहरु नबोलाउने घर परिवार भित्र मात्र चाड पर्व मनाउने ।
४. पुजाअर्चना गर्दा सार्वजनिक दुरी कायम गरि गर्ने गराउने।
५. दियो बत्ति बाल्दा अत्याधिक भिडभाड हुने भएकोले त्यस्ता कार्य पूर्ण रुपमा नगर्ने ।
६.अति आवश्यक पसलहरु बिहान ५:०० बजे देखि १० :००बजे सम्म र बेलुका ५ :००बजे देखि ८:०० बजे सम्म संचालन गर्ने ।
७. जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी परिपत्र सबैले पालना गर्ने रहेको छ ।























