सर्वोच्चद्वारा अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था बदर
काठमाडौँ । सर्वोच्च अदालतले अनलाइन सञ्चार माध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गरेको छ ।
मंगलबार न्यायाधीशद्वय दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ (३) मा राखिएको व्यवस्था संविधानसँग बाझिएको भन्दै बदर गरिदिएको हो ।
निर्देशिकाको दफा ६ (३) मा म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चार माध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने व्यवस्था उल्लेख रहेको छ ।
अधिवक्ता तथा पत्रकार लीलानाथ घिमिरे र विष्णुकुमार गिरी निश्चलले उक्त व्यवस्था नेपालको संविधान २०७२ को धारा १९ को सञ्चारको हक विपरीत भएको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।



























