बाग्मती प्रदेश स्तरीय नेपाली सेना”भूतपूर्व सैनिक सम्मेलन-२०७७” सम्पन्न
काठमाडौं । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा बाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा “शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार”भन्ने मूल नाराका “भू.पू. सैनिक सम्मेलन-२०७७” सम्पन्न भएको छ ।
राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा बाग्मती प्रदेशको ८ जिल्लाहरुमा बसोबास गर्ने ७,४३६ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।
उक्त सम्मेलनलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नुहुँदै यस प्रकारको कार्यक्रमले भू।पू। तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताउनु भएको थियो ।
सम्बोधनकै क्रममा उहाँले “नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७” कार्यान्वयन भएको उल्लेख गर्नु हुँदै भू.पू.हरुको आर्थिक समुन्नति, प्रगति र अवकाश पछिको सुखमय जीवनको समुचित व्यवस्थापन हुनु भनेकै सिङ्गो नेपाली सेनाको आधारस्तम्भ बलियो हुनु हो भन्नु भएको थियो ।
अवकाशप्राप्त गरी सकेपछि पुनस् रोजगारीको लागि विदेशिने अवस्थाको अन्त्य गरि स्वेदशमा नै स्वस्रोजगारीका अवसरहरु सृजना गरी परिवारसँगै सुखमय जीवनयापनको लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधीहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताउनु भएको थियो ।























