मेलम्चीको पानी घर–घरमा वितरण
काठमाडौँ । बहुप्रतिक्षित मेलम्चीको पानी चैत्र १५ गते आइतबार दिउँसो २ बजेपछिदेखि काठमाडौँबासीको घर–घरमा वितरण गर्न शुरू गरिएको छ। उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य लगायतले संयुक्त रुपमा महांकालचौर क्षेत्रमा भल्व खोलेर पानी वितरणको शुभारम्भ गरेका थिए। सुन्दरीजलमा गत फागुन २२ गते झारिएको मेलम्चीको पानी प्रशोधन गरेर अनामनगर, महाङकाल, मिनभवन,खुमलटारमा रहेका ट्यांकीमा जम्मा गरिएको थियो।
महांकालको ट्यांकीबाट देवकोटा सडक, बत्तिसपुतली, जयबागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्ग लगायत क्षेत्रका धाराहरुमा पानी पठाइएको छ।
चैत्र १५ गते साँझ मिनभवन र अनामनगरको पानी ट्यांकीमा जोडिएका वितरण लाइनबाट पानीको वितरण भएको छ । रातिबाट खुमलटारमा बनेको नयाँ ट्यांकीबाट पानी पठाइएको छ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार प्रशोधन गरेर पिउन योप्य बनाइएको ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा हालिएको छ। अब हरेक दुई दिनको अन्तरमा बालाजुस्थित पानीपोखरी, बाँसबारी र महाराजगञ्जस्थित पानी ट्यांकीहरुबाट पानी वितरण थालिनेछ। त्यसपछि कीर्तिपुर, ठिमी, भक्तपुरस्थित ट्यांकीहरुबाट पानी वितरण हुनेछ।
परीक्षणका लागि दैनिक ३ देखि ४ करोड लिटर पानी छुट्याइने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका छन । चैत्र महिनाभित्र उपत्यकाबासीलाई दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ।
केयूकेएलसँग हाल २ लाख ३० हजार ग्राहक छन् । एउटा घरमा १० जना मानिस बस्छन् भन्ने अनुमानका आधारमा प्रतिव्यक्ति औसत १०० लिटरका दरले एउटा धाराबाट दैनिक १ हजार लिटर सम्म पानी दिन सकिने उनले बताए ।
दैनिक एक समय २ घण्टा पानी छाडिने भएको छ। मेलम्चीको पानी १७ करोड लिटर र सुन्दरीजल तथा अन्य स्रोतको पानी गरि दैनिक २७ करोड लिटर पानी वितरण हुनेछ । अझै काठमाडौ उपत्यकालाई १६ करोड लिटर पानीको अभाव हुनेछ । काठमाडौ उपत्यकामा ४३ करोड लिटर पानीको माग छ । पुरानो १० करोड लिटर पानीमा ४० प्रतिशत चुहावट हुँदै आएको छ । जसमा २५ प्रतिशत पाइप प्रणालीको चुहावट र १५ प्रतिशत चोरी चुहावट रहेको बताइन्छ ।























