११ पत्रकार संगठन वीच गठबन्धन
काठमाडौ । आगामी चैत्र २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा सत्तारूढ दल नेकपा (एमाले) र राजावादी राप्रपा जस्ता संगठनलाई एक्ल्याउदै नेकपा (माओवादी केन्द्र ), नेकपा (एमाले) माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा विप्लव समूह,नेकपा माले,राजपा लगायत दल निकट पत्रकारका संगठन वीच गठबन्धन भएको छ।
यो गठबन्धन बलियो देखिएको छ। अब भोली चैत्र १४ गते यहि गठबन्धनले प्यानल बनाई उम्मेदवारी दर्ता गर्ने भएको छ। नेपाल प्रेस युनियनले अध्यक्ष,उपाध्यक्ष , सचिव, कोषाध्यक्ष र ९ जना सदस्य पाउने सम्भावना देखिएको छ ।
त्यसैगरि प्रेस संगठनले महासचिव,सचिव, ६ जना सदस्य,प्रेस चौतारी माधव पक्षले खुला उपाध्यक्ष,सचिव र ३ सदस्य पाउने भएका छन । अन्य संगठनले एक सचिव र केही सदस्य पाउने भएका छन । ११ संगठनको साझा प्रतिवद्धता यस प्रकार रहेको छ।
१. पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकारको हक–हित एवं मिडियाको विकास, प्रवर्द्वन तथा नागरिक अधिकार, लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघको गौरवपूर्ण ऐतिहासिक भूमिकालाई थप सबल र सुदृढ गर्न नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई प्रतिगामी कदम विरुद्ध स्पष्ट सन्देश दिने गरी सम्पूर्ण व्यावसायिक पत्रकारहरुबीच बृहत्तर एकता कायम गरी अगाडि बढ्न नेपाल प्रेस युनियन तपसिलका संगठनबीच आपसी समझदारी एवं एकता गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
२. नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खवरदारी गर्न प्रतिवद्ध छौं ।
३. मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका (संघ, प्रदेश र स्थानीय समेत) सरकारले अघि बढाएका विधेयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
४. श्रमजीवि पत्रकारहरुको पेशागत र व्यावसायिक हक हितका पक्षमा निरन्तर खवरदारी गर्न प्रतिवद्ध छौं ।
५. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउन प्रतिवद्ध छौं ।
६. सरकारी सञ्चार माध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दुर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरुमाथि मनोवैज्ञानिक दबाब दिने हर्कतप्रति आपत्ति जनाउँछौं ।
साथै, दबाबमा काम गर्न बाध्य पत्रकाहरुले पेशागत मर्यादामा रहेर गर्नु भएका कामप्रति ऐक्यवद्धता व्यक्त गर्दछौं । छ वुँदे प्रतिवद्वतामा हस्ताक्षर गर्ने संगठन र नेताहरू यश प्रकार छन।
१. नेपाल प्रेस युनियन– बद्री सिग्देल, अध्यक्ष
२. प्रेस संगठन नेपाल– महेश्वर दाहाल, अध्यक्ष
३. प्रेस चौतारी नेपाल– विश्वमणि सुवेदी, उपाध्यक्ष
४. प्रगतिशील पत्रकार संघ नेपाल– उदय जिएम, अध्यक्ष
५. क्रान्तिकारी पत्रकार महासंघ– नारायण पंगेनी, कावा अध्यक्ष
६. जनपत्रकार संगठन नेपाल– शेरबहादुर विक, संयोजक
७. क्रान्तिकारी पत्रकार संगठन नेपाल– बाबुराम भुषाल, महासचिव
८. मिडिया नेपाल – गोपाल पौडेल, अध्यक्ष
९. प्रेस सेन्टर नेपाल– लोकराज जैसी, अध्यक्ष
१०. देशभक्त पत्रकार संघ– तेजेन्द्र प्रसाईं
१. लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज (सहित विभिन्न ११ संगठन)– दामोदरप्रसाद दवाडी, अध्यक्ष























