बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित, उपराष्ट्रपतिमा अफ्रिकी मूलकी कमला ह्यारिसले इतिहास रचिन
–गणेश थापा
क्यालिफोर्निया अमेरिका । संयुक्त राज्य अमेरिकाको नयॉ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । ब्याटलग्राउण्ड मानिएको राज्य पेन्सिलभेनिया र नेभादामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले जित हासिल गरेसँगै उनी अमेरिकाको ४६औं राष्ट्रपतिमा विजयी भएका हुन् । बाइडेनले अब २०२१ को जनवरी २० मा सपथ लिएपछि आधिकारिक रूपमा ह्वाइट हाउस प्रवेश गर्नेछन् ।
सन् १९४२ मा अमेरिकाको औद्योगिक राज्य पेन्सिलभेनियामा जन्मिएका बाइडेनले राजनीतिमा ४ दशक पार गरिसक्दा आन्तरिक जीवनमा अतुलनीय क्षति व्यहोर्दै श्रीमती, छोरी र जेठो छोरा आफूबाट सदाका लागि गुमाए । विदेश मामिलाका जानकार तथा आप्रवासी प्रति नरम एवं सालिन स्वभावका बाइडेनले विश्वको महाशक्ति राष्ट्रको प्रमुख कार्यकारी पदमा बसेर गर्ने व्यवहार, कार्यशैली र रणनीतिले उनको जीवनको परीक्षण गर्नेछ ।
निकै प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनमा २० इलेक्टोरल मत रहेको पेन्सिलभेनिया र ४ इलेक्टोरल मत रहेको नेभादा राज्यमा शनिवार विहान सम्पन्न मतगणनाको अन्तिम नतीजा बाइडेनको पक्षमा आएको छ । यो सँगै उनले कूल २९० इलेक्टोरल मत प्राप्त गर्दा विपक्ष रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मत हासिल गरेका छन् । बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि चाहिने भन्दा २० मत बढी हासिल गरिसकेका छन् ।
नयॉ राष्ट्रपति चयनका लागि अमेरिकाका ५० वटै राज्यमा मंगलवार आमनिर्वाचन भएको थियो । चुनावी मैदानमा उत्रेका दुई उम्मेदवारहरू राष्ट्रपति ट्रम्प र पूर्व उपराष्ट्रपति बाइडेन बीच भएको निकै कडा प्रतिस्पर्धामा बाइनेडले बाजी मारेका छन् । अमेरिकामा इलेक्टरल कलेज प्रणाली (निर्वाचक मण्डल) को माध्यमबाट नयॉ राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । कूल ५३८ मत रहेको इलेक्टरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २७० मतको आवश्यकता पर्दछ ।

राष्ट्रपतिमा जित हासिल गर्नका लागि जो बाइडेनलाई ६ इलेक्टोरल मत रहेको डेमोक्रेटिक पार्टीको पकडक्षेत्र मानिएको राज्य नेभादा नै काफी थियो । तर,सुरूवाती चरणमा ट्रम्पले अग्रता लिएको पेन्सिलभेनिया राज्यमा समेत विजय प्राप्त गरेपछि उनको जीत अझै फराकिलो बनेको हो ।
आफ्नो पकड क्षेत्र नेभादा राज्यको कूल ६ इलेक्टोरल मत सहित उनलाई चुनाव जित्न आवश्यक इलेक्टोरल मत सहज रूपमा प्राप्त हुने हुँदा बाइडेनको जित सुनिश्चित भएको भन्दै डेमोक्रेटिक नेताहरूले ३ दिन अघिबाटै बदाई साटासाट गर्दै विजयी उम्मेदवारको रूपमा उनको दावी पेश गरिरहेका थिए ।
नोवेल कोरोना भाइरसको महामारीकै बीच सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्वतन्त्र निकाय तथा मिडिया हाउसहरूले सार्वजनिक गरेका मत सर्वेक्षणमा समेत बाइडेनलाई ९ देखि १२ अंकसम्मको अग्रता देखाइएको थियो । तर, अब ३ राज्यको मात्रै मतगणना बॉकी रहँदासम्म लोकप्रिय मतको दुरी दुवैबीच करीव ३ अंकको फरक छ ।
यता २००८ को बाराक ओबामाको रेकर्डलाई तोड्दै बाइडेनले यस राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्मकै बढी झण्डै ७ करोड ५० लाख मत प्राप्त गरी सर्वाधिक धेरै लोकप्रिय मत पाउने नेताको इतिहास बनाएका छन् ।
यो समाचार तयार पार्दासम्म ट्रम्पले भने बाइडेनको भन्दा झण्डै ५० लाख कम मत पाएका छन् । २००८ मा ओबामाले पुग नपुग करिव ७ करोड लोकप्रिय मत पाएका थिए ।
मतगणना हुन बॉकी तथा निकै कडा प्रतिस्पर्धा भइरहेका राज्यहरूमा नर्थ क्यारोलिना (१६ मत) र अलास्का (३मत) मा ट्रम्पको अग्रता छ भने जर्जिया (१५ मत) मा बाइडेन अगाडि छन् ।
यदि गणना हुन बॉकी सवै राज्यको इलेक्टोरल मत ट्रम्पको पक्षमा गएपनि उनको कूल २४८ मत मात्रै हुनेछ । यो चुनाव जित्नलाई पर्याप्त हुने छैन । कडा प्रतिस्पर्धात्मक राज्यहरूको मतगणनालाई रोक्न माग गर्दै ट्रम्प न्यायालयसम्म पुगेका छन् ।
शनिवार विहान प्राप्त ताजा रिपोर्ट बमोजिम बाइडेनको अवस्था करिव ५१ प्रतिशत पुग्दा रिपब्लिकन उम्मेदवार ट्रम्पको ४८ प्रतिशत नजिक रहेको छ । यद्यपि बॉकी रहेका ३ राज्यको मतगणना गर्न अझै केही समय लाग्ने भएकाले निर्वाचनको अन्तिम परिणाम आउन केही दिन लाग्न सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।
मत परिणामलाई लिएर उत्पन्न हुन सक्ने परिस्थिति प्रति सजग रहदै सुरक्षा निकायले देशभर सुरक्षा सतर्कता बढाएको छ । कतिपय शहरमा बाइडेनका सर्थकहरूले विजय जुलुस समेत गरिरहेका छन् ।
कोभिड–१९ का कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै निर्वाचन बोर्डले चुनावको दिनभन्दा अगाडि नै भोट हाल्ने व्यवस्था (अर्ली भोटिगं) गरे अनुसार झण्डै १० करोड मानिसले हुलाकको माध्यम तथा स्वयं उपस्थित भई चुनावको दिन भन्दा पहिले नै मतदान गरेका थिए । अमेरिकामा यस पटक १५ करोड बढी मतदान भएको बताइएको छ ।
करिव ३३ करोड जनसंख्या रहेको अमेरिकामा मताधिकार प्राप्त १८ वर्ष माथिका नागरिकको संख्या २४ करोड बढी रहेको विभिन्न रिपोर्टहरूमा उल्लेख गरिएको छ ।
यस पटकको राष्ट्रपतीय निर्वाचनमा झण्डै ५० हजार नेपालीले समेत मतदान गरेको अनुमान गरिएको छ । संसारलाई प्रभाव पार्न सक्ने सर्वशक्तिमान राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा सर्वाधिक चासो र महत्वका साथ हेरिएको छ ।
आगामी ४ वर्षे कार्यकालका लागि ह्वाइट हाउस प्रवेशको अनुमति प्राप्त गरिसकेका ओबामा शासनकालका पूर्व उपराष्ट्रपति जो बाइडेनलाई अब १४ डिसेम्वरमा इलेक्टरले औपचारिक रूपमा निर्वाचित गर्ने छन् भने यसैको आधारमा आगामी जनवरी ६ मा संसदले उनलाई आधिकारिक रूपमा राष्ट्रपति घोषणा गर्नेछ ।
निर्वाचनलाई ७४ वर्षिय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल दोहोरियाएर जनतामाझ सकारात्मक छाप छाड्दै राजनेताको छवि निर्माण गर्ने दिशामा उपयोग गरेको देखिन्छ भने आफ्ना प्रतिद्वंद्वी भन्दा झण्डै ३ वर्ष पाका उम्मेदवार जो बाइडेन सक्रिय राजनीतिमा सामेल भएको करीव ४० वसन्तपछि राष्ट्रको सर्वोच्च कार्यकारी पदको ४६औं नम्वरमा आफ्नो नाम दर्ता गरी जीवनको उत्तरार्द्धलाई अविस्मरणीय बनाउन लागि परेका छन् ।
यसैबीच अफ्रिकी मुलकी अश्वेत नागरिक कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएकी छन् । उनी डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेकी थिइन । सन् १९६४ मा अमेरिकाको क्यालिफोर्नियामा जमैकन बुबा र भारतीय मुलकी आमाबाट जन्मिएकी ह्यारिसले अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेर इतिहास रचेकी छन् ।
























