पूर्वसभामुख महराले सफाइ पाए
आर्थिक सञ्जाल – ५ फाल्गुन २०७६, सोमबार काठमाडौं ।
बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले उनलाई सफाइ दिएको हो ।
महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल तथा अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए ।
अदालतले निर्दोष ठहर गरेपछि महरालाई डिल्लीबजार कारागार तर्फ लगिएको छ । पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागार तर्फ लगिएको हो । उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन् ।
गत असोज पहिलो साता संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणीको आरोप लगाएपछि महराले गत असोज १४ गते राजीनामा दिएका थिए ।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गरिएको थियो।
तत्कालीन जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो।