जग्गा किर्ते गरी ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं । जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो ।
राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाण(पत्र बनाई पर्सा बीरगञ्ज महानगरपालिका–५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घर समेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी जग्गा किर्ते कागजात बनाई गत ०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराई लिई सोही जग्गा पर्सा बीरगञ्ज महानगरपालिका–४ स्थायी वतन भएका एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना समेत लिएको अनुसन्धनाको क्रममा खुल्न आएको हो ।
निज राणालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बीरगञ्ज पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।























