आजदेखि सहुलियत मूल्य पसल सञ्चालन
काठमाडौँ । सरकारले आज बिहीबारदेखि उपत्यका सहित देशभर सहुलियत मूल्य पसल दशैँ, तिहार र छठ लगायतका पर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याउँदै छ । उपभोक्तालाई चाडपर्वमा थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष कोभिड–१९ का कारण पनि त्यसैको निरन्तरता रहेको हो ।
यो वर्ष उपभोक्ताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडी लगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवस्था समेत गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका साल्ट ट्रेडिङ कर्पोरेशन,खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी) ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुने व्यवस्था गरिएको छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दशैँ, तिहार र छठ लगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिएका छन ।।
काठमाडौँ उपत्यकामा विभिन्न १६ स्थानसहित देशका अरू मुख्य सहरहरुमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सो सहुलियत पसल आगामी मङ्सिर ६ गतेसम्म सञ्चालन गरिने भएको छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासु समेत सहुलियत मूल्यमा पाइनेछ ।
उक्त सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ छुट पाइने छ भने चिनीमा प्रति केजी पाँच रुपियाँ छुट पाइने छ । त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकेजी रु। १० छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घिउमा प्रतिलिटर ३० रुपियाँ छुट दिने भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन,खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी) ले सहुलियत पसल सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै तीनवटा घुम्ती पसल काठमाडौँमा सञ्चालन गर्ने तयारी पनि गरेको छ । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० वटा र दुग्ध विकास संस्थानले सबै विक्री केन्द्रमा छुट दिनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाका निम्न स्थानहरु सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुर लगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।
काठमाडौँ उपत्यकाबाहिरका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।
























