साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियतको चिनी ल्याउँदै
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ल्याउन लागेको सहुलियतको चिनी दुई–तीन साता भित्रै नेपाल आइपुग्ने भएको छ । सरकारबाट २० हजार टन चिनी खरिद गरि ५० प्रतिशत भंसार छुटमा चिनी ल्याइदैछ।
कर्पोरेसनले दोस्रो पटक टेन्डर गरेर चिनी खरिदको प्रक्रिया अन्तिम चरणमा पुरयाएको कर्पोरेसन स्रोतले जानकारी दिएको छ ।
कर्पोरेसनका प्रवन्धक एवं प्रवक्ता व्रजेश कुमार झाले कोरोना महामारी वा अन्य कुनै विपत्ति आएर सबैतिर कारोवार, व्यापार, ढुवानी ठप्प हुँदा बाहेक अबको छिटोमा दुई साता देखि तीन साता भित्र चिनी नेपालमा आइपुग्ने बताएका छन ।
हाल कर्पोरेसनसँग ५/ ६ सय टन जति चिनी मौज्दात रहेको छ । खुला बजारमा प्रतिकेजी ९०/९५ रुपियाँमा कारोबार भैरहेको चिनी कर्पोरेसनले भने मात्र ७३ रुपियाँमा बिक्री गर्दै आएको छ ।
कर्पोरेसनको चिनी मौज्दात सकिँदै गएको र थप चिनी खरिद गर्न ढिला हुँदा चिनीको भाउ बढेको विश्लेषण भइरहेका बेला भंसार सहुलियतको चिनी छिट्टै आउने भएपछि नेपालीहरूको चाडपर्व दशैं,तिहार,छठ पर्व नजिकै आईरहेको वेला बजार भाउ घट्ने आशा खुद्रा व्यापारीले गरेका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले कर्पोरेसनको चिनी बजारमा आउने बित्तिकै बजारमा अहिले बिक्री भएको मूल्य थोरै भए पनि घट्ने बताए।
कर्पोरेसनले गत फागुनमै ५० हजार टन चिनी खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मार्फत सरकारसँग अनुमति मागेका थियो तर मंत्रालयले बजारको माग र आपूर्तिको अवस्था आकंलन गर्न नसक्दा र चिनीका ठुला र मुनाफाखोर व्यापारीको चगुंलमा पर्दा ढिलो गरी २०७७ साउन १३ गते मात्र २० हजार टन चिनी खरिद गर्न स्वीकृति दिएको थियो ।
यसले गर्दा अहिले बजारमा चिनीको मुल्यवृद्वि र अभाव सिर्जना भएको पाइन्छ । आम उपभोक्ताले बढी मुल्यमा चिनी खरिद गर्नु परेको अवस्था छ।
सरकारले यस पटक साल्ट ट्रेडिङलाई २० हजार र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टन गरी ३० हजार टन चिनी खरिदका लागि स्वीकृति दिएको छ ।
नुनमा नोक्सानी
यसैवीच साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिन युक्त नुनमा लागतको तुलनामा प्रति प्याकेट चार/पाँच रुपियाँ नोक्सानमा कारोबार गरिरहेको स्रोतले बताएको छ । आयोडिन नुनमा ५/६ वर्ष पहिले निर्धारण गरेको प्रति प्याकेट मूल्य २० रुपियाँ अहिलेसम्म स्थिर रहँदा नोक्सान सहेर सेवा दिइरहेको कर्पोेरेसनका प्रवक्ता झाले बताएका छन।

यस वीचमा अन्तराष्ट्रिय बजारमा कच्चा नुनको, आयोडिनको मूल्य बढेको,डलरको भाउ बढेको,ढुवानी खर्च, कामदार र कर्मचारी लागत खर्च बढेको तर मुल्यदर पुरानै हुँदा आयोनुन बिक्रीवितरणमा कर्पोरेसन प्रति किलो ४/५ रूपैयाँ नोक्सान सहेर बिक्री वितरण गरिरहेको छ। प्रति प्याकेट आयो नुनमा ५ रुपैयाँ मूल्य बढाउन पाए नोक्सान कम हुने कर्पोरेसन स्रोतले बताएको छ। बजारमा विगत ४/५ वर्ष वीचमा सबै वस्तु र सेवामा ३० देखि ४० प्रतिशत सम्म मूल्य वृद्धि भएको छ तर कर्पोरेसनले आम जनता र उपभोक्तालाई आफुले घाटा सहेर भएपनि सुपथ मुल्यमा सहज र सर्वसुलभ ढंगबाट आयोनुन उपलव्ध गराउदै आएकोमा उपभोक्ताले राहत महसुस गर्दै आएका पनि छ तर अब मूल्य नबढाए कर्पोरेसन सञ्चालन हुन नसक्ने गरि वित्तीय संकटमा पर्न लागेको बुझिन आएको छ।
यस बीचमा पेट्रोलियम पदार्थ र ढुवानीमा ४० देखि ६० प्रतिशतसम्म मूल्य वृद्धि हुँदा समेत कर्पोरेसनले नोक्सान सहेर भए पनि त्यही मूल्यलाई निरन्तरता दिएको देखिन्छ । प्रवक्ता झाका अनुसार लागत मूल्य प्याकेटमै चार/पाँच रुपियाँ नोक्सानमा प्रत्येक वर्ष दुई लााख पाँच हजार टन नुनको कारोबार गरिरहेको छ ।
कर्पोरेसनले अन्य अत्यावश्यकीय वस्तु दाल, चामल, गेडागुडी, खाने तेल, आटा, मैदा जस्ता खाद्यान्न, ग्याँस लगायतको पनि बिक्री गर्दै आएको छ ।
पछिल्लो पटक सरकारले गरेको बन्दाबन्दी वा निषेधाज्ञामा समेत कर्पोरेसनले बिक्री केन्द्र र उपत्यकामा तीनवटा मोबाइल गाडी मार्फत नागरिकको घरदैलोमा सेवा दिइरहेको छ ।
कर्पोरेसनका उपमहाप्रवन्धक कुमार राजभण्डारीले कोरोनाको जोखिमका बेला मात्रै होइन, देशमा परेका अन्य प्राकृतिक वा मानवीय विपत्तिका बेला अग्रस्थानमा रहेर सेवा दिँदै आएको दाबी गरेका छन ।
रासायनिक मल आउने प्रक्रियामा

कर्पोरेसनले चालू आर्थिक वर्षमा ७५ हजार टन रासायनिक मल खरिद गर्ने जिम्मा पाएकामा पहिलो चौमासिकमा ३० हजार टन युरिया, ४० हजार टन डीएपी र ५ हजार टन एमओसी (पोटास) खरिदको जिम्मा पाएको छ ।
त्यसमध्ये ११ हजार टन रासायनिक मल नेपाल आइसकेको र विभिन्न बिक्री केन्द्रहरूबाट धमाधम बिक्री वितरण भैरहेको छ । आउन बाँकी रासायनिक मल लोडिङको प्रक्रियामा रहेको छ ।
त्यस्तै २० हजार टन डीएपीको खरिद प्रक्रिया सुरु भएर सात हजार छ सय टन भदौसम्ममा भारतको कोलकाता बन्दरगाह आइपुग्ने र बाँकी डीएपी तथा पाँच हजार टन पोटास भदौ २९ गते सोमबार टेन्डर गर्ने तयारी भइरहेको पनि कर्पोेरेसनले जनाएको छ ।
आज भदौ २७ गते कर्पोरेसनको ५८औँ वार्षिकोत्सव पर्ने भए पनि यस पटक कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नभएको कर्पोरेसनले जनाएको छ । निजी सरकारी साझेदारी लगानी नीति अन्तर्गत कर्पोरेसन २०२० साल भदौ २७ गते स्थापना भएको थियो ।

























