जनता भोकमरीको समस्यामा
काठमाडौ । लकडाउन र निषेधाज्ञाले नेपालका आम आधारभूत वर्ग भोकमरीले मर्ने सम्भावना बढेको छ । यही तथ्यलाई ख्याल गरी सरकारले वर्तमान स्थितिलाई खुकुलो पार्दै लगेको पनि छ,लैजादै जानु जरुरी पनि देखिन्छ।
कोरोना भाइरस (कोभिड(१९) को प्रकोप बढ्न नदिने उद्देश्यले नेपाल सरकारले गत २०७६ चैत्र ११ गतेबाट शुरु भएको सम्पूर्ण आवागमन ठप्प बन्दाबन्दी (लकडाउन) कार्यक्रमले नेपाली जनजीवन अस्तव्यस्त भएको छ। यद्यपि आषाढ अन्तिम र साउन महिनामा काठमाडौ उपत्यकामा लकडाउन केही दिन खुकुलो पारिएको भएपनि अहिले पुनः कडाई गरिएको छ।
२४ भाद्र २०७७ को निर्णयले उपत्यकामा निषेधाज्ञा केही खुकुलो भएपनि अन्यत्र खुकुलो भएको छैन, देशैभर खुकुलो नपारे भोकमरी चुनौतीपूर्ण बन्नेछ। जुन सरकारको काबु भन्दा बाहिर पुग्न सक्नेछ । अहिले नेपालमा कुल सङ्क्रमित मध्ये ६५ प्रतिशत निको भएर फर्केका छन । सङ्क्रमित मध्ये १ प्रतिशत भन्दा कम मात्राको हाराहारीमा मृत्यु दर रहेको छ ।
औषधी पत्ता नलागेको स्थितिमा त्यति मात्रामा सङ्क्रमितहरु कसरी निको भए रु आम छलफलको विषय बनाउनुपर्ने देखिन्छ । रोगप्रतिरोध क्षमता विकास गर्ने जडीवुटी तथा खाद्यवस्तु सेवन गर्नुपर्ने राष्टृिय अभियान सञ्चालन गरी पेशा व्यबसाय क्रमशस् सञ्चालन गर्नतिर नलागे निकै ठूलो जनसङ्ख्या भोकमरीको कारण थोक परिमाणमै मर्नसक्ने सम्भावनालाई नजर अन्दाज गर्न सकिदैन ।
सरकारलाई त्यो भार थाम्न गाह्रो हुन्छ। देशको साख नराम्रोसङ्ग गिर्छ। तसर्थ निम्न लिखित सुझावहरुलाई सरकारले मनन गरी परिस्थिति खुकुलो बनाउदै लैजानु पर्ने देखिन्छ ।
(क) आम नागरिकले नियमित रुपमा माक्सको प्रयोग गर्ने, तातोपानी सेवन, वारवार साबुन पानीले हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु र सामाजिक दूरी कायम गर्ने मामिलालाई जनस्तरसम्म व्यापक तुल्याइ जनतालेनै निगरानी गर्ने परिस्थिति सिर्जना गर्नुपर्दछ ।
(ख) आयुर्वेदिक जगतका चिकित्सकहरुको परामर्शमा रोगप्रतिरोध क्षमता वृध्दि गर्ने अदुवा, वेसार, लसुन, कागती, मरिच, ज्वानु, मेथी,जिरा,दालचीनी, विरेनुन, गुर्जो जस्ता जडीवुटीहरुको पहिचान गरी त्यसवारेमा जनतालाई प्रशिक्षित गर्दै त्यसको नियमित सेवन गर्न जनतालाई प्रोत्साहित गर्नुपर्दछ ।
(ग) हरेक क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई हाल विद्यमान अर्धनगर स्थितिका स्थानहरुमा प्रचलित शारीरिक श्रमको पारिश्रमिक दिई अनिवार्य रुपमा श्रममा सहभागी गराइ कृषि उत्पादनसङ्ग जोड्नु पर्दछ।
(घ) विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउन नेपाल सरकार र गैह्र आवासीय नेपाली सङ्घसङ्गको सहकार्यमा विशेष योजना बनाउनु पर्दछ ।
(ङ) शैक्षिक सत्रवारे नेपालका शिक्षाविद र अन्तराष्टृिय स्तरका सम्वन्धित संस्थाहरुको राय र नीतिलाई मूख्य उपाय ठान्नु पर्दछ ।
(च) कारखाना, निजामति प्रशासन, संस्थानमा एकतिहाइ जनशक्तिसहित पालोप्रणालीमा सञ्चालन गर्नुपर्ने, निजीक्षेत्र तथा गैरसरकारी सस्थालाई पनि सोहीबमोजिम सञ्चालन गर्न निर्देशित गर्नु पर्दछ।
(छ) नेपाली कृषि उत्पादनलाई सडकमा फाल्नु नपर्ने परिस्थिति सिर्जना गर्न वाहय कृषि उपजको आयातलाई उप्पादन समय देखि ६ महिना सम्म रोक्नु वा नियन्त्रण गर्नु पर्दछ।
(ज) सार्वजनिक सवारी साधनमा आधामात्र यात्रु बोक्ने मापदण्ड निर्धारण गर्नु पर्दछ।
(झ) स्थापित स्वास्थ्यकर्मीहरुलाई पालैसङ्ग विद्युतीय सञ्चार माध्यममा सहभागी गराई जनता सचेत तुल्याउन र आत्मवल दह्रो बनाउने अभियानमा परिचालन गर्नु पर्दछ।
(ञ) देशभरका सेवारत वा अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई एउटै अभियानमा शृङ्खलावध्द रुपमा सङ्गठित गरी वर्तमानमा विद्यमान सात वटा प्रदेशहरु मध्ये सबैभन्दा राम्रो नतिजा हासिल गर्ने प्रदेशका स्वास्थ्यकर्मीहरुलाई सम्मानित गर्ने सरकारी घोषणा सहित कोरोनारुपी महायुध्दको वस्तुगत नेतृत्व गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीहरुलाई सुम्पनु पर्दछ। अन्य सबै पक्षहरुले स्वास्थ्यकर्मीको योजनामा चल्नुपर्ने नीतिगत व्यबस्था मिलाउनु पर्दछ।






















