काम नपाएपछि भारत जानेहरूको लर्को
काठमाडौ । कोरोना कहरपछि ज्यान बचाउन नेपाल फर्किएका युवाहरू यहाँ नेपालमा काम नपाएपछि कामको खोजिमा कोरोना कहरको जोखिम मोल्दै फेरी भारततर्फ जानेहरूको लर्को लाग्न थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि नेपालमा खान नपाएर भोकै मर्नुपर्दैन, सबैले काम गर्न र खान पाउँछन् भन्नु भएको थियो तर अहिले प्रदेश नम्बर ५,कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका नागरिकहरू नेपालमा काम र खान नपाएर कोरोना महामारी विच कामको खोजिमा भारत प्रवेश गर्न थालेका छन ।
सरकारले यी जनतालाई स्वदेशमै रोजगारी उपलव्ध गराएर काममा लगाउन सकेको छैन,ग्रामिण जनतालाई रोजगारी दिलाउने नीति ,योजना र कार्यक्रम नल्याउदा कामका लागि भारत जाने नेपाली बढेका छन। कसैले भोकले मर्नु पर्दैन,सबैले अब नेपालमै काम पाउँछन् भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत जाने नेपाली युवा–युवतीहरूको लर्को हेर्दा हावादारी सिद्व भएको छ ।
सिमलामा स्याउ टिप्न र अन्य काम गर्न नेपालीहरू गौरीफन्टा,जमुनाहा र गड्डाचौकी नाका हुँदै फेरि भारत तिरै फर्किन थालेका छन।
कैलालीको गौरीफन्टा नाकाबाट मात्र गत एक सातामा १ हजार ३ सय ५ जना भारतमा काम गर्न गएका छन । यहाँ काम छैन,मरेपनि उतै गएर मरौला सुर्खेतका दिनेश विकले भने।
उनी सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता नपाएपछि र यहाँ काम नभपछि भारततर्फ लागेका हुन । २४ वर्षीय दिनेश विकले भने( ‘गाउँमा साथीहरू स्याउ टिप्न सिमला जाने भए ।
म पनि उनीहरूसँगै मिसिएँ ।’ स्याउ टिप्न भारत हिमाञ्चलको सिमला पहाड हिँडेका दिनेशको समूहमा २३ जना छन् । लगभग एउटै उमेर समुहका उनीहरूमध्ये कोही सुर्खेत र नेपालगन्जमा काम र अध्ययन गरिरहेका थिए । कोहीले भने यसअघि पनि सिमलामा गएर काम गरेका थिए ।
‘पाइरहेको काम पनि कोरोनाका कारण गुमाउनुपरेपछि स्याउ टिप्न सिमला जाँदै गरेका हौं । त्यही हुलमा रहेका २३ वर्षीय दीपक विकले भने । रुकुमबाट बस रिजर्भ गरेर धनगढी आइपुगेका उनीहरूलाई नाकाबाट सिमलासम्म लैजान भारतीय ‘एजेन्ट’ आएको दीपकले सुनाए ।
स्याउ टिप्न सिमला जानका लागि बर्दिया बढैयातालका १७ जनाको अर्को समूह पनि गौरीफन्टा नाका हुँदै गएका छन । उनीहरूमध्येका गम्भीरसिंह महतराले गाउँघरमा खाली बस्नु परेकाले तीन महिनाका लागि भएपनि सिमला जान लागेको बताए । त्यस समूहमा जया र वीरबहादुर भण्डारी दम्पती पनि छन् ।
पाँच वर्षीय बालक बोकेर २२ वर्षीया पूजा परियार पनि टोलीमा सामेल भएकी छन् । ‘श्रीमान् पहिल्यैदेखि सिमलामै हुनुहुन्छ, त्यही भएर म पनि हिँडेकी हुँ,’ पूजाले भनिन् । नेपाली कामदारका लागि सिमलाबाट स्याउ बगानका साहुहरूले गाडीको पास बनाएर सीमा नाकासम्म पठाउने गरेका छन् ।
कोरोनाको डर मान्दै घरमा बस्न मन नलागेर उनीहरू भारत लागेका हुन । पश्चिम नेपालका नाकाहरूबाट भदौ सुरु भएसँगै नेपाली युवा भारत जाने क्रम सुरु भएको छ । सुदूरपश्चिममा महत्त्वपूर्ण मानिने ओल्के संक्रान्ति मनाएपछि युवा बाहिरिन थालेका छन ।
विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै युवा नाकासम्म पुग्ने गरेका छन् । एक सातायता भारत जानेको लर्को बढेको छ । कर्णालीका विभिन्न जिल्लासँगै बाँके, बर्दिया, कैलाली र सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्याउ टिप्न भनेर दिनहुँ सयौं जना भारत पसिरहेका छन् ।
गौरीफन्टा नाका भएर दैनिक २ सयदेखि ६ सय भन्दा बढी युवा भारत छिरेका छन । भारतका अन्य सहरमा काम खोज्न जानेको संख्या पनि पछिल्लो साता बढेको छ । अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ । घर फर्कनेहरूले रोजगारी गुमाएर आउनु परेको र जानेहरूले रोजगारी खोज्न जान लागेको भन्ने गरेका छन् ।
नेपालीहरू ठूलो संख्यामा महाराष्ट्रको मुम्बई, गुजरातको सुरत र पञ्जाबका सहर पनि जाने गरेका छन् । कामका लागि भारत पस्ने केहीसँग रासन, आधार कार्ड छ, कसैसँग छैन । भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका परिवार वा भारतीय कम्पनीले मजदुरका लागि पास पठाएकालाई मात्र प्रवेश गर्न दिएको छ ।
रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर भारत पस्ने गरेका छन् । उनीहरूले आफूहरूलाई काम गर्न जाने ठाउँबाट गाडी बुकिङ गरेर नाकासम्म मगाएको बताएका छन् ।























