नास–आईटी एक्स्पो हुँदै मंसिर ५ र ६ गते
३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने
काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ ।
नास–आईटीले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित अगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्स्पो आयोजना गरिने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको बताए ।
उनले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसर समेत भएको बताए । उनले नेपालमा निर्माण गरिएका सफ्टवेयर तथा प्राविधिक उत्पादनहरूले छोटो समयमै राम्रो उपलब्धि प्राप्त गर्न सफल भएको बताए ।
अध्यक्ष चापागाईंले नेपालमा निर्माण गरिएका सफ्टवेयरहरुलाई नेपाली बजारमा परिचित गराउनको लागि समेत एक्स्पो महत्त्वपूर्ण हुने बताए ।
एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छ वटा क्षेत्रमा कार्यरत ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने समेत उनले बताए ।
उनले भने, ‘हाम्रा उत्पादन र सेवाहरुलाई अन्तर्राष्ट्रियस्तरमा कसरी लैजान सकिन्छ भनेर त्यसमा काम गरेको अवस्था थियो । त्यसमा सबै क्षेत्रबाट सहयोग पाएका छौँ ।
त्यसैलाईं निरन्तरता दिनको लागि हामी एक्स्पो आयोजना गर्न लागेका हौँ । नेपालमै बनेका सफ्टवेयरहरुलाई नेपाली बजारसँग परिचित गर्नको लागि पनि एक्स्पोको आयोजना गर्न लागिएको हो ।’
नास–आईटीले नोभेम्बर २०२५ मा पहिलो संस्करणको नास–आईटी एक्स्पो आयोजना गरेको थियो । पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने आयोजकको अपेक्षा छ ।























