citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

कर्जाको किस्ता तिर्न कोषको ताकेता, ०.२५ प्रतिशत ब्याज छुट दिने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कर्मचारी सञ्चय कोषले घर तथा जग्गा धितोमा आधारित विभिन्न सापटीको किस्ता नियमित नगरेका सञ्चयकर्तालाई असोज मसान्तभित्र बक्यौता किस्ता बुझाउन ताकेता गरेको छ । कोषले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा भुक्तानी गर्नुपर्ने किस्ता रकम असोज मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

विभिन्न मितिमा घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी तथा जग्गा खरिद सापटी लिएका ऋणी सञ्चयकर्ताले तोकिएको अवधिभित्र किस्ता भुक्तानी गर्नुपर्ने कोषले जनाएको छ ।

नियमित रूपमा त्रैमासिक किस्ता भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई कोषले त्रैमासिक ब्याजमा ०.२५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको जनाएको छ ।

कर्जा किस्ता नियमित नगरेको अवस्थामा कर्मचारी सञ्चय कोष सञ्चयकर्ता कर्जा असुली विनियमावली, २०७१ बमोजिम असुली प्रक्रिया अघि बढाइने कोषले चेतावनी दिएको छ ।

कोषले किस्ता भुक्तानीका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ । केवाईसी अद्यावधिक गरेका सञ्चयकर्ताले कोषको विद्युतीय प्रणालीमार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

कनेक्ट आईपीएसमा लगइन गरी ‘सेमी–गभर्मेन्ट’ अन्तर्गत ‘संस्थान’ छनोट गरेर रकम भुक्तानी गर्न सकिनेछ । त्यस्तै, मोबाइलमा कोषको ईपीएफ एप डाउनलोड गरी त्यसमा रहेको ‘लोन पेमेन्ट’ विकल्पमार्फत पनि किस्ता बुझाउन सकिने कोषले जनाएको छ ।

सञ्चयकर्ताले आफ्नो बैंकको बैंकिङ एपमा रहेको भुक्तानी विकल्पमार्फत पेन्सन फन्डअन्तर्गत कर्मचारी सञ्चय कोष छनोट गरेर पनि रकम भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै, कोषको वेबसाइटमा रहेको व्यक्तिगत लगइनमार्फत ‘लोन पेमेन्ट’ विकल्प प्रयोग गरी किस्ता बुझाउन सकिनेछ । कोषले तोकेका बैंक खातामा रकम जम्मा गरी सोको भौचर इमेलमार्फत पठाएर पनि भुक्तानी प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ ।

कोषले अवकाश भइसकेका तथा केवाईसी अद्यावधिक नगरेका सञ्चयकर्तालाई समेत तोकिएको प्रक्रियामार्फत सापटीको किस्ता भुक्तानी गर्न आग्रह गरेको छ ।

IME Life
kumari