stcnepal long ad
global ime bank long

आजदेखि ग्यास पुरानै मूल्यमा पाउने 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि प्रतिसिलिन्डिर पुरानै मूल्य दुई हजार ६० रुपियाँमा ग्यास पाउने भएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित छलफलमा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले भोलिदेखि नै पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो ।

भदौ १४ गते कृष्णभिरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यार भरेर सिलिन्डर ल्याउनु पर्दा लागत बढेकाले ग्यास उद्योगीले भाउ बढाएका थिए ।

जस अनुसार कायम मूल्यमा १०५ रुपियाँ ३८ पैसा थपेर दुई हजार १६५ रुपियाँ ३८ पैसा कायम गरिएको थियो । अध्यक्ष चन्दले ग्यासको सहज आपूर्ति भयो भने छिट्टै नै उपभोक्ताले घरछेउकै विक्रेताबाट ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था हुने बताउनुभयो ।

काठमाडौँ उपत्यकामा ग्यासका बुलेट भित्रिन थालिसकेकाले भोलिदेखि नै ग्यास आपूर्ति पनि सहज हुने जानकारी गराइएको छ ।

आपूर्ति मन्त्रालय आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव जितेन्द्र बस्नेतले नेपालमा थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएकाले छिट्टै सहज हुने जानकारी दिनुभयो ।

उहाँले मासिक ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी ग्यास आपूर्ति गर्न कूटनीतिक पहल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार थप १६० वटा ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारबाट सकारात्मक प्रतिक्रिया आएको छ ।

प्रतिनिधि सभाका सदस्य तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्य प्रकाशसिंह कार्कीले ग्यासको समस्या व्यवसायीका कारण नभई बिचौलियाका कारण उत्पन्न भएको दाबी गर्नुभयो । प्रवक्ता बस्नेतले घरमा चल्तीको सिलिन्डर र अतिरिक्त सिलिन्डर भएका उपभोक्तासमेत लाइन बसेर थप स्टक राख्न खोज्दा समस्या जटिल बनेको बताउनुभयो ।

उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ग्यासको अभाव, चिनी, चामललगायत खाद्यवस्तुको मूल्यवृद्धि तथा बजार अनुगमन र बजार नियमन प्रणाली नै कमजोर रहेको बताउनुभयो ।

बुधबार २५ बुलेट पास

वैकल्पिक बाटोबाट आयात नियमित भइरहे पनि बजारमा भने उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । लामो समय डिलरमा लाइनमा सिलिन्डर राख्दा पनि ग्यास नपाउँदा उपभोक्ताले चरम अभाव खेप्नु परेको हो ।

दुई साताअघि कृष्णभिरमा पहिरो गई मुख्य सडकमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–भैँसे–पालुङ–नौबिसे हुँदै काठमाडौँमा ग्यासको आयात भइरहेको नेपाल आयल निगमले जनाएको छ । ग्यास अभावको चरम मारमा एउटा सिलिन्डर हुने विद्यार्थी परेका छन् ।

शङ्खमुलका राजेन्द्र श्रेष्ठ एक महिनादेखि ग्यास नपाउँदा खाना पकाउन समस्या भएको बताउनुभयो । विद्युतीय चुलो भए पनि दुवै जना बिहानै काममा बाहिर निस्कन पर्ने हुँदा ८४ वर्षकी आमाले प्रयोग गर्न नजान्दा धेरै कठिन भएको उहाँको भनाइ छ । श्रेष्ठ मात्र नभएर पछिल्लो समय अधिकांश उपभोक्ताले ग्यासको अभाव खेप्नु परेको छ ।

नेपाल आयल निगम एलपी ग्यास विभाग प्रमुख विनितमणि उपाध्यायले मुख्य राजमार्ग अवरुद्ध भई तराईबाट साना गाडीमा ग्यास ल्याउँदा समय लाग्ने र थोरै ग्यास आउने गरेकोमा अब बुलेट आउँदा अभाव हटेर उपभोक्ताले सहजरूपमा ग्यास पाउने बताउनुभयो ।

अधिकांश ग्यास उद्योग धादिङमा रहेकाले बाटो खुला भएपछि उद्योगीले रिफिलिङ गरेर बजारमा ल्याउने हुँदा बजारमा उपभोक्ताले सहज ढङ्गले ग्यास पाउने उहाँको भनाइ छ । एउटा बुलेटमा एक हजार २५० सिलिन्डर ग्यास आउने गर्छ । निगमका अनुसार कृष्णभिरबाट मङ्गलबार छ वटा बुलेट पास भएको र बुधबार २५ वटा बुलेट पास भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा दैनिक ४० हजार सिलिन्डर खपत हुने रहेकोमा अहिले त्यति सङ्ख्यामा आयात भइरहे पनि बजारमा माग धेरै हुँदा उपभोक्ताले सहज ढङ्गले ग्यास पाउन नसकेको बताउनुभयो ।

पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारणले आपूर्तिमा समस्या भई बजारमा ग्यास अभाव हुन थालेपछि गत फागुन २८ देखि चार महिना आधा तौलको सिलिन्डर वितरण गरेको थियो ।

IME Lifesidebar
kumari