stcnepal long ad
global ime bank long

दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई प्राथमिकता दिन सञ्चारमन्त्रीको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

मन्त्रालयमा शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग भएको छलफलका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो निरन्तर आइरहेकाले नियामक र सेवा प्रदायक दुवैले परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो।

चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको ‘रूपान्तरणको वर्ष’ का रूपमा अघि बढाइएकाले अब कामको नतिजा देखिनुपर्ने उहाँको भनाइ थियो। मन्त्री डा. तिमिल्सिनाले दुर्गम तथा सेवा नपुगेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारका लागि ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को प्रभावकारी परिचालन गर्न जोड दिनुभयो।

“आरटिडिएफको पैसा नागरिकको पैसा हो, त्यसबाट नागरिक नै लाभान्वित हुनुपर्छ। नाफा-घाटा नहेरी दुर्गममा सेवा पुर्‍याउनु राज्यको दायित्व हो,” उहाँले भन्नुभयो।

सञ्चारमन्त्रीले रुग्ण बनेका टावर निर्माण तथा अप्टिकल फाइबर विस्तारका आयोजनालाई तत्काल टुङ्गोमा पुर्‍याउन र एक साताभित्र विस्तृत कार्ययोजना पेस गर्न निर्देशन दिनुभयो। साथै, सडक विभाग र नेपाल विद्युत् प्राधिकरणजस्ता निकायसँग समन्वय गरी सहरी क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन तथा भूमिगत गर्ने कार्यलाई अघि बढाउन पनि उहाँले ताकेता गर्नुभयो।

छलफलका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले आरटिडिएफको रकममार्फत विभिन्न प्रदेशमा अघि बढाइएका अप्टिकल फाइबर विस्तारका कतिपय आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको स्वीकार गर्नुभयो।

यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले दुर्गम क्षेत्रमा स्याटेलाइट ब्यान्डविथ र फोरजी सेवा विस्तारमा लागत उच्च हुने भएकाले आरटिडिएफको रकम परिचालन गर्न प्रस्ताव गर्नुभयो। उहाँले चालु आर्थिक वर्षमा करिब एक हजार किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने लक्ष्य राखिएको जानकारीसमेत दिनुभयो।

IME Lifesidebar
kumari