राष्ट्रिय सहकारी बैंकमा दुई विज्ञ सञ्चालक नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडमा दुई विज्ञ सञ्चालकलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिले बैंकिङ र सहकारी क्षेत्रका दुई जना विज्ञलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका अनुसार सहकारी विज्ञतर्फ डा. वासुदेव लामिछाने र बैंकिङ विज्ञतर्फ रुक्मिणी भट्ट नियुक्त भएका हुन् ।
उनीहरूलाई प्रचलित कानुनी व्यवस्था तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशन बमोजिम खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिएको हो । विज्ञ सञ्चालक पदका लागि बैंकले गत असार ११ गते आवेदन आह्वान गरेको थियो ।
प्राप्त आवेदनहरू मध्येबाट योग्यता, शैक्षिक पृष्ठभूमि, कार्य अनुभव, तालिम तथा सम्मानका आधारमा तोकिएको मूल्यांकन प्रक्रिया पूरा गरी अधिकतम अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।





















