अग्नि ग्रुपद्वारा नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक
काठमाडौं । महिन्द्रा सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले नेपाली बजारमा ‘नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड’ पिकअप गाडी सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौंको गैरीधारास्थित महिन्द्रा शोरुममा एक विशेष समारोहको आयोजना गर्दै उक्त नयाँ मोडल सार्वजनिक गरिएको हो।
व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्ति, सञ्चारकर्मी र ग्राहकहरूको उपस्थितिमा सार्वजनिक गरिएको यस नयाँ पिकअपमा मजबुत क्षमता र आरामदायी यात्रालाई सन्तुलित रूपमा प्रस्तुत गरिएको छ।
विशेषगरी व्यवसायी, उद्यमी र ढुवानीमा निर्भर पेशाकर्मीलाई लक्षित गर्दै यस गाडीमा आकर्षक डिजाइन र आधुनिक सुविधाहरू थपिएका छन्।
अघिल्लो मोडलको तुलनामा नयाँ डीसी गोल्ड संस्करणमा इन्जिनको शक्ति र टर्कलाई अपग्रेड गरिएको छ। साथै, ग्राहकको सुविधालाई ध्यानमा राख्दै यसमा एयर कन्डिसनर, म्युजिक सिस्टम, लेदर सिट र अझ फराकिलो तथा आरामदायी केबिन समावेश गरिएको कम्पनीले जनाएको छ।
यस पिकअपमा महिन्द्राको प्रमाणित र भरपर्दो एम२डीआई ४ सिलिन्डरयुक्त २५२३ सीसीको डिजेल इन्जिन जडान गरिएको छ। यसले ३२०० आरपीएममा ५९.७ किलोवाट पावर र १४०० देखि २२०० आरपीएममा २२० न्युटन मिटर टर्क उत्पादन गर्छ। यसले गर्दा जस्तोसुकै कठिन भौगोलिक अवस्थामा पनि गाडीको तान्ने क्षमता उच्च रहने र राम्रो माइलेज दिने कम्पनीको दाबी छ।
कार्यक्रममा बोल्दै अग्नि ग्रुपका प्रतिनिधिहरूले कम मर्मत खर्च, मजबुत बनावट र उत्कृष्ट कार्यसम्पादनका कारण बोलेरो क्याम्परले दशकौँदेखि नेपाली व्यवसायी र किसानहरूको मन जित्दै आएको बताए । थप शक्ति, आराम र आधुनिक सुविधासहित आएको यो नयाँ मोडलले आजका ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्दै उनीहरूको भरपर्दो सहयात्री बन्ने विश्वास उनीहरुको छ ।
लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय अग्नि ग्रुपले देशव्यापी डिलर र सर्भिस सेन्टरमार्फत गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ । नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप अब देशभरका सम्पूर्ण आधिकारिक महिन्द्रा डिलरहरूमा बुकिङ र खरिदका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।





















