निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारवाही, अटेर गरे एक महिना कैद
काठमाडौँ । काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ रु यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ ।
आज राति १२ः०० बजेदेखि लागु हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा खुबै कडाई गर्ने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो, “मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुन्छ ।”
उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरण समेत यसपाली हुने छैन । कुनै सवारी पास समेत जारी गरिने छैन । त्यसैले बन्दाबन्दी भन्दा आज राति १२ः०० बजेदेखि लागु हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।
यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णय अनुसार महानगरीय प्रहरी कार्यालय मार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिनुभयो । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।
उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ । राति १२ः०० बजेदेखि अत्यावश्यकबाहेकका गतिविधि गर्न पाइने छैन । उक्त आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ ।
सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम काठमाडौँ उपत्यकामा लागु हुने गरी उक्त निर्णय गरिएको हो ।
अनावश्यकरुपमा मानिस घरबाट निस्किए कारवाही हुनेछ । सार्वजनिक तथा नीजि सवारीसाधन समेत निस्कन पाउने छैनन् । यसपाली खाद्यान्न, औषधीजन्य बाहेकका ढुवानी समेत रोकेको प्रजिअ दाहालले बताउनुभयो ।
अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन समेत सञ्चालन गर्न पाइने छैन ।
कोभिड १९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने छ ।
अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा विहान ९ः०० देखि १०ः३० बजेसम्म र बेलुका ३ः०० देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । त्यसबाहेकका अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । पत्रकारका लागि के व्यवस्था छ भन्ने जिज्ञासामा सकेसम्म न्यून सङ्ख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने काठमाडौँका प्रजिअ दाहालले बताउनुभयो ।
अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने । मुल्य वृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने छ । आदेश उल्लंघन गरे कडा कारवाही हुने चेतावनी दिइएको छ । रासस























