सिन्धुपाल्चोककाे जुगलमा पहिराे
काठमाडौ । अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको छ ।
उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएका छन्। याे घटनाले नेकपा अध्यक्ष क.प्रचण्डलाई स्तब्ध बनाएको छ ।
उक्त घटनामा बेपत्ता हुनुभएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आव्हान गर्दछु प्रचण्डले भनेका छन् । पहिरोमा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने मकवानपुरमा पनि एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनु भएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु प्रचण्डले भनेका छन्।
बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सबैमा नेकपा अध्यक्ष प्रचण्डले अपील गरेका छन् ।


























