stcnepal long ad
global ime bank long

लिपिङ खोला जलविद्युत आयोजनाको प्रगति ९८ प्रतिशत

हिम रिभर पावरको पुँजी वृद्धि गर्ने प्रस्ताव पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिम रिभर पावर लिमिटेडको वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुदिप कुमार चौधरीले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

अध्यक्ष चौधरीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीद्वारा प्रवर्द्धित १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत आयोजनाको हालसम्मको भौतिक प्रगति ९८ प्रतिशत पुगेको छ।

आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि विभिन्न प्राकृतिक तथा प्राविधिक कारणले निर्धारित समयमा व्यावसायिक उत्पादन सुरु गर्न नसकिएको कम्पनीले जनाएको छ।

प्रतिवेदनमा उल्लेख भए अनुसार, २०८० जेठ १३ गतेसम्ममा व्यावसायिक उत्पादन सुरु गर्ने सम्झौता भए पनि सिन्धुपाल्चोक क्षेत्रमा आएको बाढी–पहिरो, आयोजना स्थलमा भएको आगलागी जस्ता प्राकृतिक विपत्तिले निर्माणमा असर पुर्‍याएको थियो।

त्यस्तै, छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने विस्फोटक पदार्थ २०८० असार महिनादेखि रोकिएका कारण आयोजनाबाट सापट लिएर काम चलाउनुपर्दा सुरुङ निर्माणमा करिब ८ महिना ढिलाइ भएको थियो।

साथै, वन तथा वातावरण मन्त्रालयको नयाँ कार्यविधिका कारण रुख कटानको अनुमति पाउन नसक्दा थप ८ महिना काम रोकिएको गुनासो कम्पनीले गरेको छ।

साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र पूँजी संरचना सम्बन्धी व्यवस्था हेरफेर गर्न प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

आयोजनाको काम समयमै सम्पन्न नहुँदा बढेको ब्याज खर्च र प्रशासनिक खर्च व्यवस्थापन गर्न तथा तत्काल आवश्यक पर्ने पूँजी जुटाउन जगेडा (मौज्दात) शेयर बिक्री गर्ने सञ्चालक समितिको निर्णयलाई पनि सभाले अनुमोदन गरेको छ।

कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नका लागि प्रक्रिया अघि बढाएको जनाएको छ। नेपाल धितोपत्र बोर्डले नेटवर्थ सम्बन्धी कागजात माग गरेको र साधारणसभा सम्पन्न भएलगत्तै सो कागजात पेश गरी स्वीकृति लिइने अध्यक्ष चौधरीले बताए। हाल कम्पनीको किताबी नेटवर्थ रु ११८/– र वास्तविक नेटवर्थ रु ९८.७२/– रहेको जानकारी दिइएको छ।

आयोजना स्थल तथा प्रसारण लाइनका लागि नेपाल सरकारको ८३ रोपनी जग्गा प्रयोग गरे बापत सट्टाभर्ना स्वरुप कम्पनीले २९३ रोपनी जग्गा खरिद गरी सरकारलाई उपलब्ध गराइसकेको छ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ।

कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले सञ्चालन गरेको उक्त सभामा शेयरधनीहरूले राखेका जिज्ञासाको अध्यक्ष चौधरीले जवाफ दिएका थिए।

IME Lifesidebar
kumari